सुलीकोट समाचारदाता
सुलीकोट, पुस ३ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ र ४ नम्बर वडाको सिर्दीबास र प्रोकमा घोडा र खच्चडको निःशुल्क बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र, गोरखाको आयोजनामा जिल्लामै पहिलो पटक बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखाका प्रमुख आनन्द कोइरालाले जानकारी दिनुभयो ।
उत्तरी गोरखामा सडक सञ्जालले नजोडिएकाले घोडा र खच्चडको बढी प्रयोग हुने भएकाले घोडा र खच्चडलाई यातायातका साधनका रूपमा हेर्ने गरिएको छ । शिविरमा २९२ वटा घोडा र खच्चडको स्वास्थ्य उपचार तथा बन्ध्याकरण गरिएको छ ।
शिविरमा घोडा र खच्चडलाई लागेको चोटपटक, लङ्गडोपनको सङ्क्रमणको समस्या देखिएको त्यस्ता घोडा खच्चडलाई रेबिज र टिटानसविरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय गोरखाले जनाएको छ ।
त्यस्तै शिविरमा घोडा र खच्चडको खुर काट्ने परजीवीविरुद्ध औषधी उपचार गरिएको छ । उक्त शिविरमा एनिमल नेपालका समूहको समेत सहभागिता थियो ।
अहिले गोरखाको एक मात्र मुख्य सवारीसाधनका रूपमा काम गर्दै आएका उत्तरी गोरखावासीको अत्यावश्यक सामानको ढुवानी गर्दै स्थानीयको जीवनयापनमा सहजता ल्याउने त्यस्ता जनावरका लागि पहिलो पटक शिविर सञ्चालन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र, गोरखाले जनाएको छ ।
उत्तरी गोरखामा एउटा वडाबाट अर्को वडामा पुग्नसमेत पूरै दिन लाग्ने भएकाले पनि चुमनुब्री गाउँपालिकाको पहलमा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र गोरखासँग समन्वय गरी घोडा र खच्चडको निःशुल्क बन्ध्याकरणको व्यवस्था गाउँपालिकाले गरेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।