नवलपरासी समाचारदाता
कावासोती, पुस ३ गते । विगत केही वर्षदेखि नागरिकतासँगै राहदानी बनाएर विदेश जाने युवकयुवतीको सङ्ख्या बढ्दै जाने गरेको थियो । पछिल्लो पटक भने पूर्वी नवलपरासीमा राहदानी बनाउनेको सङ्ख्या घट्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट नागरिकतासँगै राहदानी बनाउनेको सङ्ख्या घट्दै गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत वर्ष जिल्ला प्रशासन कार्यालयबाट १४ हजार ६३१ जनाले नेपाली नागरिकता र १८ हजार ३२५ जनाले राहदानी लिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो । विगतमा राहदानी लिन निवेदन दिनेको सङ्ख्या पुरुष र महिला उस्तै उस्तै रहे पनि अहिले भने ठप्प रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पूर्वी नवलपरासी जिल्लाबाट विगत छ वर्षदेखि हालसम्म ६७ हजार २७ जनाले राहदानी लिएका र तीमध्ये ४४ हजार १२१ जना खाडी मुलुकमा रोजगारका लागि गएको जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाकी परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो ।
राहदानी लिएर खाडी मुलुकमा रोजगारका लागि जाने पूर्वी नवलपरासी जिल्ला देशकै छैटौँ जिल्लाका रूपमा रहेको सो परियोजनाले जनाएको छ । सो परियोजनाका अनुसार पूर्वी नवलपरासीमा छ वर्षमा १४३ जनाको शव नेपाल आएको छ । गत वर्ष मात्रै २८ जनाको शव नेपाल ल्याइएको र ती सबै नवलपरासीपूर्वको रहेको परामर्शदाता लम्सालले बताउनुभयो ।