तम्घास समाचारदाता
तम्घास, पुस ३ गते । गुल्मीमा क्याम्पस पढ्ने छात्रा नै क्याम्पस प्रमुखबाट असुरक्षित भएको पाइएको छ । जिल्लाको मुसीकोट नगरपालिका–७, वामीटक्सारमा रहेको रुद्रावती बहुमुखी क्याम्पसमा अध्ययन गर्ने २३ वर्षीय छात्रामाथि क्याम्पस प्रमुखले नै यौन दुव्र्यवहार गरेको रहस्य बाहिर आएको हो । क्याम्पस प्रमुख ४५ वर्षीय कृष्णप्रसाद सापकोटाले लामो समयदेखि छात्रालाई गलत नियतले हेर्ने गरेको छात्राले दिएको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय मङ्सिर २३ र २५ गते सापकोटाले गरेको व्यवहार आफूले सहन नसकी आफ्नी बहिनीलाई व्यक्त गरेको र बहिनीमार्फत स्ववियु हुँदै प्रहरीसमक्ष आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
क्याम्पस प्रमुखले पटक पटक छात्राका संवेदनशील अङ्गमा छुने, छात्रालाई असहज बनाउने र क्याम्पसमा आउन सक्ने वातावरण नभएको भनी स्वतन्त्र विद्यार्थी युनियनमा जानकारी गराएको स्ववियु सभापति अनिश पाठकले जानकारी दिनुभयो । पीडितबाट जानकारी आएपछि आफूले विज्ञप्ति जारी गर्दै सत्यतथ्य बाहिर ल्याउन र कानुन अनुसार कारबाही गर्न माग गरेको बताउनुभयो ।
नागरिक समाज गुल्मीका अध्यक्ष तथा रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्वप्राध्यापक पदमप्रसाद पाण्डेले अध्ययन स्थलमै छात्रा असुरक्षित हुनु दुःखद भएको बताउनुभयो । यस्ता कार्यमा संलग्न जोकोहीलाई पनि कानुनी दायरामा ल्याई गलत प्रवृत्तिलाई निरुत्साहित गर्न सरोकारवालाले विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भूपेन्द्र थापाका अनुसार आरोपित क्याम्पस प्रमुखलाई पक्राउ गरिएको बताउनुभयो । पीडितले दिएको उजुरीका आधारमा सापकोटालाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको र जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको उहाँको भनाइ छ ।
सडक बालिका पनि असुरक्षित
यसैबिच गत मङ्सिरमा सडक बालिकामाथि जबरजस्ती करणी भएको थियो । १२ वर्षीय सडक बालिकामाथि मालिका गाउँपालिकाका एक पुरुषले ललाइफकाई तम्घासको एक होटेलमा लगी जबरजस्ती करणी गरी फरार भएका थिए । बालिकाको स्वास्थ्य असहज भएपछि घटना बाहिर आएको थियो ।
निज पुरुषलाई प्रहरीले पक्राउ गरी पछिल्लो समय जिल्ला अदालत गुल्मीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानको अन्तिम चरणमा रहेको थापाले बताउनुभयो । निजलाई जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।