• ८ वैशाख २०८२, सोमबार

धनगढीगाउँ–जुगेडा सडक निर्माण सुरु

blog

निर्माण सुरु गरिएको धनगढीगाउँ–जुगेडा जोड्ने सडक । तस्बिर : अविनाश चौधरी

धनगढी समाचारदाता

धनगढी, पुस ३ गते । कैलालीको धनगढी उपमहानगरपालिकास्थित धनगढीगाउँदेखि घुइयाँघाट हुँदै जुगेडा जोड्ने सडकको निर्माण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा सो सडकको निर्माण थालिएको हो । धनगढीको दक्षिणी क्षेत्रमा निकै महìवपूर्ण यो सडक अत्यन्त जीर्ण बनेको थियो । जीर्ण सो सडकलाई अन्ततः प्रदेश सरकारले बनाउन लागेको छ । 

बहुवर्षीय योजनाका रूपमा रहेको यो सडकको पहिलो प्याकेजमा ५५० मिटरमा कालोपत्रे सडक निर्माणको काम भइरहेको छ । त्यति दुरीका लागि गत वर्ष ठेक्का भएको थियो । ठेक्का भएको ठाउँमा नाली निर्माणको काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर विनोद खड्काले बताउनुभयो । 

“५५० मिटरमा कालोपत्रे सडक निर्माणका लागि गत वर्ष नै ठेक्का लागेको थियो,” उहाँले थप्नुभयो, “हाललाई त्यतिमा काम भइरहेको छ । थप कामका लागि अर्को ठेक्का आह्वान हुन्छ ।” धनगढी उपमहानगरपालिका–८, १० र १२ जोड्ने सो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले डेढ करोड बजेट विनियोजन गरेको छ तर बहुवर्षीय योजना रहेकाले थप चार गुणा बजेट थपको प्रयास पनि भइरहेको जनाइएको छ । 

“बहुवर्षीय योजनामा चार गुणा बजेट थप्न मिल्छ,” इन्जिनियर खड्काले भन्नुभयो, “यसलाई आर्थिक मन्त्रालयले स्वीकृत गरेमा छ करोडको अर्को ठेक्का आह्वान हुन्छ ।” मन्त्रालयले बजेट थप नगरेमा डेढ करोड रुपियाँको मात्रै ठेक्का आह्वान गरेर अर्को चरणको काम अगाडि बढाइने खड्काले बताउनुभयो । 

कृषि सडकका रूपमा लिइएको यो सडक नालासहित १० मिटर चौडा बन्ने बताइएको छ । पहिलो प्याकेजमा मिनु कन्स्ट्रक्सनले सडक निर्माणको काम गरिरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । २०८२ असार मसान्तसम्म सडक निर्माणको समायवधि रहेको छ । २०७५ सालमा भएको स्थानीय तहको निर्वाचनमा यो सडक उम्मेदवारका चुनावी नारामा पनि समेटिएको थियो ।