• ३ पुस २०८१, बुधबार

एनसेल उत्कृष्ट करदाता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ३ गते । दूरसञ्चार सेवाप्रदायक एनसेल उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । गत आर्थिक वर्षमा संस्थागततर्फ सबैभन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानगरपालिकाले मङ्गलबार एनसेललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रूपमा ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई उक्त सम्मानपत्र प्रदान गर्नुभएको हो । 

गत आवमा सबैभन्दा बढी कर तिरी ललितपुर महानगरपालिकाको विकास र समृद्धिमा योगदान पु¥याएकाले एनसेललाई यो सम्मानपत्र प्रदान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत कामुयोभले नेपालको अर्थतन्त्र र विकासमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा योगदान गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो । एनसेलले स्थापनाकालदेखि गत आवसम्म सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकमा तीन खर्ब रुपियाँभन्दा बढी कर तिरेको जनाएको छ । गत आवमा मात्रै कम्पनीले २० अर्ब ३० करोड रुपियाँ कर तथा शुल्क सरकारलाई दाखिला गरेको जानकारी दिएको छ ।