• ५ पुस २०८१, शुक्रबार

निर्णायक मण्डल घोषणा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ३ गते । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ । आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपालीबिचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र तेस्रो हुनेले १० लाख रुपियाँ प्रदान गरिने बताउनुभयो । कार्यक्रममा ‘मेरो भ्वाइस युनिभर्स’ मा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अञ्जु पन्त, तृष्णा गुरुङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्नुहुने जानकारी गराइयो । 

यस्तै ‘मेरो डान्स युनिभर्स’ मा निर्णायकका रूपमा अभिनेतृ मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शङ्कर बिसी, किरण थापा र अभिनेतृ शिल्पा मास्के रहनुभएको छ ।  कार्यक्रम सञ्चालकका रूपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेतृ रिमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्वमिस नेपाल नम्रता श्रेष्ठ हुनुहुन्छ ।