• २१ पुस २०८१, आइतबार

कार्यदल गठन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ३ गते । २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक लगाएर पत्रु (स्क्य्राप) गर्ने व्यवस्था कार्यान्वयनका लागि सात वर्षपछि बल्ल कार्यदल बनेको छ । वातावरण प्रदूषण र सवारी दुर्घटनाको जोखिममा कमी नआएको गुनासो बढेपछि यातायात व्यवस्था विभागले कार्यदल बनाएर काम अघि बढाएको हो । व्यवस्था कार्यान्वयनका लागि पटक पटक सूचना सार्वजनिक गरेर पहल गर्दा पनि सो हुन सकेको छैन । 

सवारी तथा यातायात व्यवस्था नियमावली–२०५४ संशोधन गरी २०७४ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरेर देशभरबाट २०७४ फागुन मसान्तभित्र २० वर्ष पुराना सवारीसाधनमा प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको थियो । तर पछिल्लो निर्णय भएको सात वर्ष बितिसक्दा पनि कार्यान्वयन भएको छैन । 

कार्यदलले २० वर्ष पुराना सवारी स्क्य्राप गर्नेसम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिएपछि कानुनी व्यवस्थालाई कार्यान्वयन गरिने विभागले जनाएको छ । विभागका महानिर्देशक राजीव पोखरेलले भन्नुभयो, “२० वर्ष पुराना सवारी स्क्य्रापको सर्वेक्षण गर्ने सवालमा कार्यदल बनाएर काम अघि बढाएका छौँ । प्रतिवेदन आएपछि कार्यान्वयन गर्छौं । स्पष्ट कार्यविधि नहुँदा पनि अन्योल अवस्था देखिएको हो ।”

उहाँका अनुसार कार्यदलले सर्वोच्चको फैसला, कानुन, यातायात व्यवस्था नियमावली र सम्भावनाका बारेमा अध्ययन गर्ने छ । विभागका निर्देशकको संयोजकत्वमा बनेको पाँच सदस्यीय कार्यदलमा यातायात व्यवसायी, वातावरणविज्ञ, इन्जिनियरलगायत रहेको बताइएको छ । लामो समयदेखि कार्यान्वयन हुन नसकेको विषय भएकाले पनि कार्यदल बनाएर काम अघि बढाउन लागिएको महानिर्देशक पोखरेलको भनाइ छ ।

तर यातायात व्यवसायीले भने उमेर तोकेर पत्रु बनाउनु वैज्ञानिक नहुने बताउँदै आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भन्नुभयो, “सवारीसाधनहरूको प्रदूषण जाँच (भेहिकल फिटनेस टेस्ट) गरेर यान्त्रिक रूपमा उपयुक्त सवारीसाधनलाई चल्न दिनु पर्छ । गाडीको इन्जिन खराब छ भने १० वर्षमै पत्रु बनाउँदा पनि हुन्छ, हामीले पहिलेदेखि नै २० बर्से मापदण्ड वैज्ञानिक छैन भन्दै आएका छौँ ।”