• २१ पुस २०८१, आइतबार

संसद् प्रभावकारी बनाउने उपाय खोजी

blog

सङ्घीय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत अन्तरव्यवस्थापिका मञ्च नेपालले आयोजना गरेको अन्तरव्यवस्थापिका सम्मेलनमा सहभागी हुनुहुँदै । तस्बिर : फडिन्द्र अधिकारी

लेखनाथ समाचारदाता

लेखनाथ, पुस ३ गते । सङ्घीय व्यवस्थापिका र देशैभरका प्रदेश व्यवस्थापिकाका सभामुख र प्रदेशसभा सचिवहरू अहिले पोखरामा हुनुहुन्छ । गण्डकी प्रदेशको राजधानी पोखरामा उहाँहरू अहिले प्रदेशदेखि सङ्घसम्मका व्यवस्थापिकाहरूलाई प्रभावकारी र मर्यादित बनाउन सकिन्छ भनी विमर्श गर्दै हुनुहुन्छ ।

अन्तरव्यवस्थापिका मञ्च नेपालले आयोजना गरेको अन्तरव्यवस्थापिका सम्मेलनले यस्तो छलफलको अवसर जुराएको हो । पर्यटकीय राजधानी पोखरामा गण्डकी प्रदेश सभा सचिवालयको व्यवस्थापनमा आरम्भ भएको सम्मेलन बुधबारसम्म चल्ने छ । 

सङ्घीय प्रतिनिधि सभा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त रूपमा सम्मेलन उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा सभामुख घिमिरेले लामो राजनीतिक आन्दोलनले धेरै व्यवस्था परिवर्तन भए पनि अब देश निर्माणको क्षेत्रमा अपेक्षित गति नदेखिएको उल्लेख गर्नुभयो । “समग्रमा सबै पक्षलाई प्रभाव पार्ने राजनीतिक दलले हो । दलहरूमा नै जति हुनुपर्ने हो, उति उत्तरदायित्वबोध भएन,” उहाँले भन्नुभयो । सङ्घले बनाउनुपर्ने कानुनहरू निर्माण नहुँदा प्रदेशहरू कमजोर बनेको औँल्याउँदै उहाँले यो सम्मेलनले व्यवस्थापिकाहरूको भूमिका प्रभावकारी बनाउन सन्देश दिने जनाउनुभयो । 

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घ र प्रदेश सरकारबिच खाडल देखिनु चिन्ताको विषय भएको औँल्याउनुभयो । “कतिपय कानुन अभावले सङ्घ र प्रदेशबिच खाडल र अन्तरविरोध देखिएको छ । प्रदेश र राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न उठ्ने परिवेश बनेको छ,” उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घले कानुन नबनाइदिँदा प्रदेशले गाली खानु परेको तर्क गर्नुभयो । “स्थानीय तहका जनताले प्रश्न उठाएको सुहाउँछ तर बानेश्वरको संसद् भवनमा बसेर गाउँ गाउँमा सिंहदरबार पुगेन भन्न सुहाउँदैन,” उहाँले भन्नुभयो, “प्रदेशलाई हात खुट्टा बाँध्ने अनि दौडनुहोस् भन्न सुहाउँछ ?” गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल सम्मेलनमार्फत सङ्घीयतालाई बलियो बनाउन तथा संविधान अनुकूलका कानुन बनाउन संसद्को भूमिका खोजी गरिने उल्लेख गर्नुहुन्छ ।