लेखनाथ समाचारदाता
लेखनाथ, पुस ३ गते । हिरासतमा राख्न मिल्ने म्याद सकिँदै जाँदा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेविरुद्ध अभियोजनको तयारी भएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई थप चार दिन हिरासतमा राख्न मङ्गलबार कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछानेसहित पाँच जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । सोमबार कास्की प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि मङ्गलबारबाट लागु हुने गरी अन्तिम पटक अदालतले चार दिनको म्याद दिएको छ ।
सूर्यदर्शन प्रकरणमै असोज ६ गते पक्राउ पर्नुभएका गोर्खा मिडिया नेटवर्कका पूर्वउपाध्यक्ष छविलाल जोशीसँगै म्याद गणना हुने हुँदा लामिछानेलगायतविरुद्ध अन्तिम पटक म्याद थप भएको हो । मङ्गलबार अदालतमा जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले प्रहरीबाट अनुसन्धान प्रतिवेदन सोमबार प्राप्त भएको जनाउँदै अभियोजनका लागि थप समय माग गर्नुभएको थियो ।
सहकारीपीडितको तर्फबाट बहस गर्नुभएका अधिवक्ता युवराज पराजुलीले दोषीले उन्मुक्ति पाउन नहुने र जाहेरवालाको निक्षेप फिर्ता पाउने गरी अभियोगपत्र तयार हुनुपर्नेमा जोड दिनुभयो । अदालतमा लामिछानेको पक्षबाट बहस गरेका कानुन व्यवसायीहरूले भने अनुसन्धान सकिएपछि अभियोगपत्र तयार गर्नकै लागि मात्र लामिछानेलाई हिरासतमै राखिनुपर्ने आवश्यकता नरहेको जिकिर गर्नुभएको थियो ।
म्याद थप गर्ने निर्णयअघि रास्वपा सभापति लामिछानेले आफूलाई हिरासतमा राख्दा कुनै थप प्रमाण प्राप्त हुन नसकेको जिकिर गर्नुभएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले ढिलोमा पुस ५ गतेभित्र जिल्ला अदालत कास्कीमा अभियोगपत्र बुझाउनुपर्ने छ ।
जिल्ला न्यायाधिवक्ता काफ्लेले अदालतले दिएको समयसीमाभित्रै अभियोगपत्र तयार हुने बताउनुभएको छ । “अहिले प्रतिवेदन अध्ययन, विश्लेषण हुँदै छ । मुद्दा चलाउनुपर्ने निर्णय भएमा अदालतले दिएको समयभित्रै अभियोगपत्र तयार गर्छौं,” उहाँले भन्नुभयो ।
लामिछानेसहित गोर्खा मिडिया प्रालिका पूर्वउपाध्यक्ष जोशी, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, जिबी एन्ड ग्रुपकी कर्मचारी लीला पछाई र सहकारीका पूर्वसञ्चालक कृष्ण गुरुङ अहिले प्रहरी हिरासतमा हुनुहुन्छ । यसअघि कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भई विचाराधीन रहेका १९ जनाविरुद्ध पनि अनुसन्धान गरी पूरक प्रतिवेदन प्रहरीले बुझाइसकेको छ । प्रहरी प्रतिवेदनमा अहिले लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ । प्रहरीले ६५ जनाविरुद्ध अनुसन्धान गरेकोमा १४ जनाको ठेगाना एकिन नभएकाले पछि निर्णय हुने शर्माले बताउनुभयो । विपक्षी बनाइएकामध्ये कास्की प्रहरीको हिरासतमा पाँच जना छन् भने नौ जना पुर्पक्षका लागि थुनामा छन् ।
प्रहरी प्रतिवेदनमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीन अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ । सहकारी ठगीका मुख्य व्यक्ति गितेन्द्रबाबु राईसहित ३७ जना अझै फरार छन् । प्रहरी प्रतिवेदनमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपियाँ बिगो माग दाबी लिन सुझाइएको छ ।