• १६ वैशाख २०८२, मङ्गलबार

पदाधिकारी सिफारिस नगरी सकियो म्याद

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस ३ गते । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि गठित सिफारिस समितिको म्याद सकिएको छ । आयोगका पदाधिकारी र सदस्य नियुक्तिका लागि सिफारिस नगरी सिफारिस समितिको दुईमहिने समयावधि मङ्गलबार सकिएको हो । 

आइतबार र सोमबार सम्पन्न समितिको बैठकमा पदाधिकारी र सदस्यको नाममा सहमति जुट्न सकेन । सरकारले कात्तिक २ गते सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानतः अब यही सिफारिस समितिको म्याद थप गर्ने वा नयाँ समिति बनाउने विकल्पमा सरकारले निर्णय लिने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्धारित अवधिभित्र समितिले आयोगका पदाधिकारी र सदस्य सिफारिस गर्न सकेन । अब छलफल गरेर सरकारले केही दिनभित्र निर्णय लिन्छ ।”

यसैबिच समितिका प्रवक्ता खम्बबहादुर खातीले अल्पमत र बहुमतका आधारमा आयोगका पदाधिकारी र सदस्य नियुक्त गर्न उपयुक्त नहुने भएपछि अर्को प्रक्रिया सुरु गर्न सरकारलाई आग्रह गरिएको बताउनुभयो । उहाँले सिफारिस समितिमा केही विषयमा मतैक्यता हुन नसकेकाले सिफारिस समितिभित्र बहुमत र अल्पमतको निर्णय गर्दा यसबाट दूरगामी असर पर्न सक्ने हुँदा निर्णयमा पुग्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन आयोगमा नियुक्त हुने अध्यक्ष तथा सदस्य नियुक्तिको प्रक्रियालाई थप विश्वसनीय र स्वीकार्य बनाउन उपयुक्त व्यक्तिको खोजीलाई अझ व्यापक र प्रभावकारी बनाई नियुक्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखियो ।” 

उहाँले समितिको म्याद समाप्त भएकाले दुवै आयोगका अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी प्रक्रिया पुनः प्रारम्भ गर्न उपयुक्त हुने देखिएकाले उक्त प्रक्रिया पुनः प्रारम्भ गर्न सरकारलाई अनुरोध गरिएको बताउनुभयो । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७१ जारी भएपछि दुई पटक आयोगको गठन भइसकेको छ । सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा अच्युतप्रसाद भण्डारी (सदस्यमा पनि), डिल्लीराज आचार्य, विजयसिंह सिंजापति (सदस्यमा पनि), महेश थापा र विश्वराज कोइरालाको नाम सूचीकृत गरेको थियो । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षका लागि काशीराज दाहाल, सुदीप पाठक र शेरबहादुर केसीको नाम सूचीकृत गरे पनि सहमति नजुटेपछि सिफारिस समितिले सरकारलाई नयाँ प्रक्रिया थाल्न आग्रह गरेको छ ।