• २ पुस २०८१, मङ्गलबार

सगरमाथा विमानस्थल निर्माणका लागि बजेट सुनिश्चित छैन : मन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, पुस २ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले बजेट सुनिश्चित नहुँदा उदयपुर जिल्लामा निर्माण गर्ने भनिएको सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम अगाडि बढाउन नसकिएकोे बताउनुभएको छ ।

प्रस्तावित विमानस्थल निर्माण गर्नका लागि छुट्याइएको जग्गाको स्थलगत अवलोकन गर्न सोमबार अपराह्न उदयपुरको त्रियुगा नगरपालिका-१ स्थित जोगिदह पुग्नुभएका मन्त्री पाण्डेले विमानस्थल निर्माण समितिद्वारा आयोजित एक कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

सरकारसँग विमानस्थल निर्माणका लागि आवश्यक बजेट नहुँदा विगत लामो समयदेखि निर्माणको काम रोकिएको बताउनुहुँदै मन्त्री पाण्डेले यहाँ जग्गाको मुआव्जासमेत तिर्नु नपर्ने अवस्था रहेको र जग्गा प्राधिकरणका नाममा आइसकेको अवस्थामा सरकारले बजेट सुनिश्चित गरेर निर्माण कार्य सुचारु गर्न सरकारका विभिन्न निकायहरुबिच अहिले छलफल भइरहेको जानकारि गराउनुभयो। उहाँले उदयपुरको यो सगरमाथा विमानस्थल निर्माणका लागी लागत स्टमेट तयार गरेर जनस्तरको सहभागितासँगै स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले संयुक्त रुपमा बजेट विनियोजन गरी आर्थिक सुनिश्चितता गर्न अति आवश्यक रहेको भन्दै मन्त्री पाण्डेले राज्यसँग अहिले बजेट अभाव भएकोले यो योजनाका लागि बजेट विनियोजन गर्न नसकेकोले सबै पक्ष मिलेर, सबै पक्षको लागत सहभागितामा मात्र यो विमानस्थल निर्माण गर्न सकिने बताउनुभयो ।

नागरिक उड्यान प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी, मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डे, उदयपुर निर्वाचन क्षेत्र नं. १ का सङ्घीय सांसद डा. नारायण खडकासहित प्रस्तावित सगरमाथा विमानस्थलको अवलोकन गर्न पुग्नुभएका मन्त्री पाण्डेले बजेट अभावको कुरा देखाउँदै जनस्तरको सहभागितासँगै स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले लागत स्टमेट तयार गरेर बजेट विनियोजन गरि विमानस्थल निर्माणको कार्य सुरु गर्नुपर्ने बताएपछि स्थानीय भने विमानस्थल नबन्ने भन्दै निराश भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका-१ र २ को सामुदायिक वन क्षेत्रको १५७ हेक्टर वन अधिग्रहण गरि करिब २६ प्रजातिका करिब १५ हजार रुख कटान गरि सगरमाथा विमानस्थल निर्माणको लागि जग्गा खाली गरिएको भए पनि पछिल्लो समय हरियो रुख काटेर काठ व्यवसायीमार्फत ठूलो परिमाणमा काठ बिक्री गर्ने बाहेक विमानस्थल निर्माणको काम पूर्ण रुपले रोकिएको छ ।