• २ पुस २०८१, मङ्गलबार

‘शैक्षिक गुणस्तर सुधार्न समीक्षा गरौँ’

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्य । तस्बिर : लक्ष्मण पौडेल

भैरहवा समाचारदाता

भैरहवा, पुस २ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारका लागि निर्मम समीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ । जनजागृति माध्यमिक विद्यालय तिलोत्तममा नगरपालिका–२, योगिकुटी रुपन्देहीको ५२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयको नतिजा र गुणस्तर सुधार गर्न निर्मम समीक्षा गर्नुपर्ने बताउनुभएको हो । नतिजा खस्कनुको पछाडिको कारण खोज्नुपर्ने, त्यसका लागि शिक्षाविज्ञले भूमिका बढाउनुपर्ने र सुधारका विकल्प अघि सार्नुपर्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “लुम्बिनी प्रदेशको गत वर्षको एसइईको नतिजाले झस्काएको छ । त्यसलाई सुधार गरेर अघि जानुपर्ने छ । यसका लागि निर्मम समीक्षा गरेर जानुपर्ने छ । गत वर्षको नतिजाले गम्भीर र चिन्तित बनाएको छ ।” सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न परम्परागत कक्षाकोठालाई रूपान्तरण गरेर आधुनिक प्रविधिसँग जोड्न जरुरी रहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो । “अब परम्परागत रूपमा सोचेर हुँदैन । हाम्रा शिक्षण विधि तथा क्रियाकलापलाई प्रविधिसँग जोड्न जरुरी छ ।” मुख्यमन्त्री आचार्यले भन्नुभयो, “अबको शिक्षालाई व्यावसायिक र प्राविधिक बनाउनु पर्छ । पढ्दापढ्दै स्वरोजगार हुने गरी शिक्षा प्रणाली आजको आवश्यक हो ।” 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी र विद्यालयप्रति अभिभावकले निगरानी बढाउनुपर्ने समेत उहाँले बताउनुभयो ।  विद्यार्थीको पढाइप्रति रुचि घट्दै जानु र विद्यालयमा पठनपाठनको वातावरण बनाइराख्न अभिभावकले नियमित निगरानी राख्नुपर्ने आवश्यकता मुख्यमन्त्री आचार्यले औँल्याउनुभयो । “विद्यार्थी किताबमा भन्दा सामाजिक सञ्जालमा बढी भुल्न थाले । यसले शिक्षण सिकाइमा असर पारेको छ । विद्यार्थीलाई किताबमा रुचि बढ्ने गरी सिकाइको वातावरण बनाउनु पर्छ ।”

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले पनि आफ्नो भूमिकाको आफैँ समीक्षा गर्नुपर्ने मुख्यमन्त्री आचार्यको भनाइ छ । उहाँले भन्नुभयो, “शिक्षक आफ्नो भूमिका र कामप्रति जिम्मेवार बन्न जरुरी छ ।” विद्यालयमा पूर्ण शैक्षिक वातावरण निर्माणका लागि विद्यालय परिवारले भूमिका बढाउनुपर्ने, त्यसमा तीन तहका सरकारले साथ सहयोग गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गर्नुभयो ।