तम्घास समाचारदाता
तम्घास, पुस २ गते । पछिल्लो समय गुल्मीमा राजीनामा दिने शिक्षकको लर्को लागेको छ । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका अनुसार साउन १ गतेदेखि हालसम्म १८ जनाले राजीनामा दिएका छन् । प्राथमिक तहमा १६ जना, माध्यमिक तहमा दुई जना गरी कुल १८ जनाको राजीनामा स्वीकृत भएको कार्यालयका प्राविधिक सहायक रामप्रसाद पन्थीले जानकारी दिनुभयो ।
उदय माध्यमिक विद्यालय चन्द्रकोटका माध्यमिक तहमा अध्यापन गराउने भीमबहादुर थापा र जनबोध माध्यमिक विद्यालयमा गणित विषय अध्यापन गराउने गीता भण्डारीले राजीनामा दिनुभएको हो । थापाले बिरामी भएर र भण्डारीले तथ्याङ्क अधिकृतमा नाम निकालेर राजीनामा दिएको पन्थीले बताउनुभयो । यस्तै १७ जना शिक्षकको अनिवार्य अवकाश भएको पनि उहाँले बताउनुभयो ।
पछिल्लो समयमा शिक्षण पेसामा त्यति रुचि नहुनु र वैदेशिक रोजगारीको लहरले पनि राजीनामा दिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले बताउनुभयो । आफू केही महिनापहिले मात्रै गुल्मीमा आएको बताउँदै आफू आएलगत्तै राजीनामाको लर्को लागेको उहाँले बताउनुभयो । राजीनामा दिनेमा करिब आधाको सङ्ख्यामा वैदेशिक रोजगारीमा रहने गरेको उहाँको भनाइ छ ।
नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेका अनुसार शिक्षण पेसामा आकर्षण र उचित सम्मान नहुनाले पनि बिचैमा छाड्नेको लर्को लाग्ने गरेको बताउनुभयो । यसका साथै विद्यालयहरू राजनीतिक अखडा बन्नु, शिक्षकलाई जीवन निर्वाह गर्न पनि धौ धौ हुनु, शिक्षण पेसामा भविष्य नदेख्नु र निजामती सेवा सरह राज्यले हेर्ने दृष्टिकोण नहुनुले पनि शिक्षण पेसाबाट राजीनामा दिने गरेको उहाँको तर्क छ । यही अवस्था कायमै रहेमा भविष्यमा शिक्षण पेसामा सङ्कट देखा पर्न सक्ने उहाँको भनाइ छ ।
पछिल्लो समय गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षक पाउनै मुस्किल हुन थालेको छ । केही समयपहिले सदरमुकाम तम्घासकै रेसुङ्गा माध्यमिक विद्यालयले माध्यमिक तहको अङ्ग्रेजी राहत शिक्षकमा विज्ञापन गर्दा शिक्षक पाउन सकेको थिएन । तेस्रो पटकसम्म विज्ञापन गर्दा बल्लतल्ल शिक्षक पाएको विद्यालयका प्रधानाध्यापक भागिरथ भण्डारीले बताउनुभयो ।