• २ पुस २०८१, मङ्गलबार

‘सञ्चार क्षेत्र पहरेदार बन्नु पर्छ’

blog

रङ्गेली समाचारदाता

विराटनगर, पुस २ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सञ्चार क्षेत्र लोकतन्त्रको पहरेदार बन्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका कोशी प्रदेश र मोरङ जिल्लाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई कोइराला निवासमा बधाई दिँदै नेता कोइरालाले सञ्चार क्षेत्र कमजोर बन्न नहुने बताउनुभएको हो । 

लोकतन्त्रको रक्षाका लागि समेत सञ्चार क्षेत्र कमजोर हुन नहुने धारणा उहाँले राख्नुभयो । उहाँले सञ्चार क्षेत्रले प्रतिपक्षको भूमिकासमेत निर्वाह गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय सञ्चार क्षेत्र कमजोर हुँदै गएको हो कि भन्ने आफूले महसुस गरिरहेको बताउँदै कोइरालाले राजनीतिक अराजकता रोक्ने जिम्मेवारी सञ्चार क्षेत्रसँग रहेको बताउनुभयो । 

नेता कोइरालाले सञ्चार क्षेत्र कमजोर हुँदा लोकतन्त्रसँगै मुलुकमा अराजकता, बेथिति, भ्रष्टाचार मौलाउँदै जाने बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चार क्षेत्रले जहिले पनि प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्छ । सञ्चार क्षेत्र बलियो भयो भने लोकतन्त्र पनि बलियो हुन्छ ।” उहाँले मुलुकमा आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । तिनै तहको सरकारले सुशासन कायम गर्न नसकेकाले यस्तो अवस्था आइरहेको उहाँको भनाइ थियो । 

उहाँले भन्नुभयो, “अहिले देशमा सुशासन छैन । भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै गएको छ । युवामा देशप्रति निराशा बढ्दो छ । यस्तो बेला सञ्चारकर्मीको भूमिका अहम् हुन्छ । सबै विकृतिविरुद्ध सञ्चार क्षेत्रले आवाज उठाउनु पर्छ ।”