• २ पुस २०८१, मङ्गलबार

स्वर्ण महोत्सव स्तम्भ शिलान्यास

blog

टीकापुर समाचारदाता

टीकापुर, पुस १ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सव स्तम्भ शिलान्यास गर्नुभएको छ । 

योमरी पुन्ही र उँभौली पर्वको अवसर पारी आइतबार उहाँले स्तम्भ शिलान्यास गर्नुभएको हो । मुख्यमन्त्री शाहले आफ्नो एक महिनाको पारिश्रमिक आफू पढेको विद्यालय वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सवलाई दिने घोषणा गर्नुभयो ।

उहाँले देश विदेशमा रहेका, पेसा व्यवसायमा रहेका, सरकारी निकायमा बसेका पूर्वविद्यार्थीले थोरथोरै सहयोग गरे ठुलो सहयोग जुट्ने र महोत्सवका लागि सहयोग नपुगे आवश्यक सहयोग प्रदेश सरकारले पनि गर्ने आश्वासन दिनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले ५० वर्षअघि स्थापना भएको विद्यालयले देशका लागि धेरै कर्मचारी, नेता जन्माएको र सुदूरपश्चिममा मात्रै मुख्यमन्त्री, एक मन्त्री र दुई जना बहालवाला सदस्य विद्यालयका पूर्वविद्यार्थी रहेका बताउनुभयो । 

आफू पूर्वविद्यार्थी, खेलाडी, कलाकार हुँदै मन्त्री भएको तर विद्यालयको भौतिक संरचना जीर्णोद्धार गर्नुपर्ने अवस्थामा पुगेकाले टीकापुरमा शैक्षिक लगानी गरी शैक्षिक पर्यटकीय केन्द्रका रूपमा विकास गरिने उहाँले बताउनुभयो ।

स्नातकोत्तरसम्मको पढाइ हुने वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सव २०८१ फागुन ९ देखि ११ गतेसम्म टीकापुरमा हुने छ । राष्ट्रपति रामचन्द्र पौडेल महोत्सवमा सहभागी हुने कार्यक्रम तय भएको छ । स्वर्ण महोत्सव स्तम्भ निर्माणमा २५ लाख रुपियाँ बजेट लाग्ने विद्यालयका प्राचार्य फणेन्द्रराज रेग्मीले जानकारी दिनुभयो ।