• २ पुस २०८१, मङ्गलबार

डायलासिस सेवा अझै भएन सञ्चालन

blog

जडान भएका डायलासिस मेसिनसहितका श-या ।तस्बिर : बाबुराम शर्मा

दोलखा समाचारदाता

दोलखा, पुस २ गते । दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी पूरा भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक र प्राविधिक दुवै तयारी भए पनि नयाँ भवन हस्तान्तरण हुन नसक्दा डायलासिस सेवा सुरु हुन नसकेको अस्पतालका प्रमुख डा. लक्ष्मण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कम्पनीको केही भुक्तानी हुन बाँकी रहेकाले भवन हस्तान्तरण हुन नसकेको हो ।

सञ्चालनका लागि आवश्यक तयारी पूरा भइसकेको छ । हस्तान्तरण र अनुमति पाउनेबित्तिकै सञ्चालनमा आउने छ । अस्पतालनजिकै नयाँ निर्माण सम्पन्न भवनमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले एक वर्षअघि खरिद गरेर पठाइदिएको मेसिन जडान गर्ने कार्य मन्त्रालयकै सहयोगमा भएको हो ।  मिर्गाैलापीडितको डायलासिस गर्दा मेसिन सञ्चालन गर्न आवश्यक पर्ने प्लान्टसमेत जडान भइसकेको र जनशक्तिलाई आवश्यक तालिमसमेत प्रदान गरिएको छ । अस्पतालका स्वास्थ्यकर्मीले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमार्फत निक साइमन परियोजनाबाट तालिम लिएर फर्किसकेका छन् । 

प्रदेशबाट प्राप्त चार वटा मेसिन जडान भइसकेको, प्रदेशको स्वास्थ्य मन्त्रालय र राष्ट्रिय मिर्गौला केन्द्रबाट थप एक/एक वटा उपकरण आइसकेपछि छ वटा मेसिनको जडान र २० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेसँगै यो कार्य पूरा भएको छ । सेवा प्रदान गर्न एक जना फिजिसियन, दुई जना मेडिकल अधिकृत र चार जना स्वास्थ्य परिचारिकाको व्यवस्थापन भइसकेको अस्पतालका प्रमुख डा. खड्काले जानकारी दिनुभयो । सेवाशुल्क निर्धारण र निःशुल्क सेवा प्रदान गर्नेबारे कार्यविधि तयार भइरहेको छ । उहाँले भन्नुभयो, “अब छिट्टै यो सेवा प्रारम्भ गर्ने प्रयत्न भइरहेको छ । सेवा सुरु भएपछि दोलखालगायत छिमेकी जिल्लाका मिर्गौलापीडितले चरीकोटमै सहज रूपमा डायलासिस सेवा पाउने विश्वास अस्पतालले लिएको छ ।”