मार्तडी समाचारदाता
मार्तडी (बाजुरा), पुस २ गते । बाजुराको कोल्टी–मार्तडी सडकखण्डमा पर्ने बाउलीखोलामा चार वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन । १६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने पक्की पुल चार वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा अलपत्र अवस्थामा रहेको छ ।
चार वर्षसम्म पनि पुल निर्माण नहुँदा यहाँका नागरिक तथा यातायातका साधन बर्खायाममा रोकिने र हिउँदको समयमा त्यही खोलाबाट कोल्टी जाने गरेको स्थानीय नरबहादुर विकले बताउनुभयो । उहाँका अनुसार बडीमालिका नगरपालिकालगायत पूर्वी उत्तरी क्षेत्रका चार वटा स्थानीय पालिका जोड्ने मुख्य पुल निर्माणको चार वर्ष पुग्यो तर पुल भने बनेको छैन । विकले भन्नुभयो, “पुल निर्माण गर्नका लागि रड बिछ्याइएका थिए । अहिले ती रडसमेत खोलाले पुरिसकेको छ । ठेकेदारको लापर्बाहीका कारण राज्यको लगानी खेर गएको छ ।”
बाउलीखोलामा पुल नबन्दा बर्सेनि खच्चडमा महँगो भाडा तिररे सामान ढुवानी गर्नु परेको छ । अहिलेसम्म सो ठाउँमा पुल नबन्दा यहाँका व्यापारी तथा स्थानीय सर्वसाधारण महँगीको मारमा परेका छन् । पुलको निर्माण प्रगति चार वर्षसम्म आइपुग्दा पाँच प्रतिशत पनि भएको छैन । पुल बनाउनका लागि टिडिआर जुगल कौशिक जेभीसंग पाँच करोड ५८ लाख ८८ हजार २७० रुपियाँमा सम्झौता भएको सडक डिभिजन कार्यालय अछामका प्रमुख नेत्र देवकोटाले बताउनुभयो । पटक पटक ठेकेदार कम्पनीलाई ताकिता गर्दा पनि सुनुवाइ नहुँदा पनि सोही कम्पनीलाई फेरि आर्थिक वर्ष २०८१/८२ फागुनभित्र काम पूरा गर्ने गरेर म्याद थप गरिएको छ ।
प्रमुख देवकोटाले भन्नुभयो, “अहिलेको ठेक्का कम्पनी खारेज गर्ने हो भने धेरै समय लाग्ने भएका कारण टिडिआर जुगल कौशिक जेभीलाई नै काम गर्ने गरेर जिम्मेवारी दिइएको हो ।” बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार अहिले बाजुराका सबै निर्माणाधीन पुलका ठेकेदार कम्पनीको खोजी भइरहेको छ । काम गरिरहेका निर्माण कम्पनीलाई छिटो काम गर्न र सम्पर्कविहीन रहेकालाई कालो सूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो ।