• २ पुस २०८१, मङ्गलबार

मुगुमकार्मारोङ अझै जोडिएन सडक सञ्जालमा

blog

छाइलको लादेभिरमा माथिल्लो मुगुका लागि विकास निर्माणका सामग्री खच्चडबाट ढुवानी गरिँदै ।

हरिकृष्ण ऐडी 

मुगु, पुस २ गते । मुगुको उत्तरी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका कर्णाली प्रदेशको ४४ वटा स्थानीय तहमध्ये सडक सञ्जालमा नजोडिएको एउटै मात्र स्थानीय तह हो । यहाँ आन्तरिक सडक नभएपछि ढुवानीको विकल्प घोडा तथा खच्चडको प्रयोग बढेको छ । 

मुगुमकार्मारोङ गाउँपालिका–९ का स्थानीय जङ्गलाल रोकायाका अनुसार  जिल्लाका चार वटा गाउँपालिका खत्याड गाउँपालिका, छायानाथ रारा नगरपालिका र सोरु गाउँपालिका सडकले छोएको छ तर  मुगुमकार्मारोङ गाउँपालिकामा अहिलेसम्म सडक सञ्जालमा नजोडिँदा यहाँका सर्वसाधारणले चर्को भाडादर तिरेर सदरमुकाम गमगढीदेखि माथिल्लो मुगुसम्म दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री खच्चडबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ । 

मुगुमकार्मारोङ गाउँपालिकाको छाइलबाट करानभेग र माथिल्लो मुगुसम्म ढुवानी गर्न दैनिक दुई सयभन्दा बढी खच्चडले खाद्यान्न, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री ओसार्ने गरेको खच्चड व्यवसायी धनबहादुर बुढाले बताउनुभयो । चामल, चिनी, तेल, नुन, ग्यास, दाललगायत खाद्यान्न तथा पुस्तक र सिमेन्ट, छडलगायत विकास निर्माणका सामग्री घोडा–खच्चडबाटै ढुवानी गर्ने गरिएको छ । खच्चड व्यवसायीले यहाँका स्थानीय युवालाई   रोजगार दिएका छन्, बाटो निकै कठिनाइ र डरलाग्दो भएकाले यहाँ बाटोमा खच्चडबाट ढुवानी गर्न भगवान्को नाम जपेर सामान ढुवानी गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

छाइलबाट पुलसम्म खच्चडबाट प्रतिकेजी १८ रुपियाँ तिरेर ढुवानी गर्दा दैनिकी उपभोग्य वस्तु र विकास निर्माणका सामग्री गाउँबस्तीसम्म पुग्दा निकै महँगो पर्ने गरेको मुगुमकार्मारोङ गाउँपालिका–४ का स्थानीय पेमा क्षेङदल लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक नहुँदा बिरामीलाई सदरमुकाम गमगढीसम्म बोकेर लैजान निकै गाह्रो पर्छ ।

यता खच्चड र भरियाका भरमा पुगेका खाद्यान्नबाट गुजारा गरेका बस्तीमा हिमपात र वर्षाले गोरेटो नबिगारोस् भन्ने कामना गर्ने गरेको स्थानीय व्यापारी लक्ष्मी रोकायाले बताउनुभयो । सर्वसाधारणको दैनिकी चल्न मुस्किल हुने गरेको भन्दै उहाँले भन्नुभयो, “त्यसैले हिउँद र वर्षा  दुवै  सिजनका लागि सामान स्टक राख्छु । नत्र त मेरो व्यापार डुब्छ, गाउँलेलाई पनि समस्या पर्छ ।”

मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार गाउँपालिका विकट भएर होला सङ्घीय सरकार र प्रदेश सरकारको नजर अझै पर्न सकेको छैन । माथिल्लो मुगुको भूमि राज्यविहीनताको अवस्थामा रहेको उहाँले बताउनुभयो । 

२०६४ सालमा माथिल्लो मुगुलाई सदरमुकाम गमगढीमा जोड्ने र उत्तरी चीनसँग जोडिएको नाका नाकच्यालाग्नासँग जोड्ने उद्देश्यले सडकको निर्माण गर्ने काम थालनी गरिएको थियो तर सरकारको कनिका छर्ने लगानीले कछुवाको गतिमा अहिलेसम्म २० किलोमिटर मात्र सडकको काम विस्तार भएको छ । सडक सञ्जालबिना विकास निर्माणका  काममा असम्भव हुने हुँदा छिटोछरितो निर्माणका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग पहल गरिएको जनाइएको छ ।