• २ पुस २०८१, मङ्गलबार

तबलावादक जाकिर हुसैनको निधन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २ गते । तबलावादक जाकिर हुसैनको निधन भएको छ । उहाँको अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा सोमबार निधन भएको हो । उहाँ गम्भीर स्वास्थ्य समस्याका कारण विगत दुई सातादेखि अस्पताल भर्ना हुनुहुन्थ्यो । सोमबार बिहान परिवारले जाकिर हुसैनको मृत्यु भएको पुष्टि गरेको थियो । जाकिरको मृत्युको पुष्टि गर्दै परिवारले आधिकारिक विज्ञप्ति पनि जारी गरेको छ । उहाँको मृत्यु फोक्सोमा असर गर्ने रोगका कारण भएको विज्ञप्तिमा जनाइएको छ । 

प्रसिद्ध तबलावादक जाकिर हुसैनले अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउनुभएको थियो । सन् १९५१ मा उस्ताद अल्लाह राखको घरमा जन्मनुभएका जाकिर बाल्यकालदेखि निकै प्रतिभाशाली हुनुहुन्थ्यो । हुसेन एक उत्कृष्ट तबलावादकका साथै उत्कृष्ट सङ्गीतकार पनि हुनुहुन्थ्यो । उहाँले ‘हिट एन्ड डस्ट’ र ‘इन कस्टडी’ जस्ता चलचित्रका लागि सङ्गीत दिनुभएको थियो । अन्तर्राष्ट्रिय ब्याले र आर्केस्ट्रा निर्माणका लागि केही जादुयी रचना पनि सिर्जना गर्नुभएको थियो । उहाँलाई सन् १९८८ मा भारतको सर्वोच्च पुरस्कार पद्मश्रीबाट सम्मानित गरिएको थियो । यसपछि उहाँलाई सन् २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषण जस्ता सर्वोच्च पुरस्कारबाट सम्मानित गरिएको थियो । हुसेनलाई

सन् १९९० मा सर्वोच्च सङ्गीत सम्मान ‘सङ्गीत नाटक अकादमी पुरस्कार’ पनि दिइएको थियो । जाकिर हुसैनलाई समकालीन विश्व सङ्गीत एल्बम श्रेणीमा एल्बम ‘ग्लोबल ड्रम प्रोजेक्ट’ का लागि २००९ मा ५१ औँ ग्रामी पुरस्कार प्रदान गरिएको थियो । एजेन्सी