रङ्गेली समाचारदाता
विराटनगर, पुस २ गते । सिप र क्षमता भएका आकाङ्क्षीलाई रोजगारदातासँग जोड्न विराटनगरमा रोजगार मेला सुरु भएको छ । विराटनगर महानगरपालिकाले तीन सय जना आकाङ्क्षीलाई रोजगारी दिलाउने उद्देश्यसहित मेलाको शुभारम्भ गरेको हो ।
सोमबार उद्घाटन भएको मेलामा ३० स्टल रहेका छन्, जहाँ साना, घरेलु तथा मझौला उद्योग, रोजगारदाता कम्पनी, सञ्चार संस्थासमेतले स्टल राखेका छन् ।
मेलाको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मेलामार्फत रोजगार आकाङ्क्षी र रोजगारदाताको पहिचान गरेर आवश्यकताका आधारमा जनशक्ति व्यवस्थापनमा महानगरपालिकाले सहजीकरण गर्ने बताउनुभयो । उहाँले गत वर्ष आयोजित मेलामार्फत १३७ जनालाई रोजगारी दिइएको र यस वर्ष तीन सय जनालाई रोजगारीमा जोड्ने लक्ष्यसाथ स्विस कन्ट्याक्टको सहयोगमा मेला आयोजना गरिएको बताउनुभयो ।
प्रमुख कोइरालाले अध्ययन सकेर मात्रै बसेकालाई भन्दा अध्ययनपछि तालिम र सिप सिकेकाले मेलामार्फत बढी फाइदा लिन सक्ने देखिएको बताउनुभयो । उपप्रमुख शिल्पा निराला कार्कीले अघिल्लो वर्षका कमीकमजोरीलाई सच्याउँदै यस वर्षको मेलाबाट चार सय जनालाई रोजगारी सिर्जना गर्ने दाबी गर्नुभयो ।
उहाँले आवश्यकताका आधारमा रोजगारी दिलाउन स्थानीय तहले मेलामा रोजगारदाता र आकाङ्क्षीलाई जोड्ने पुलको काम गरेको बताउनुभयो ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले स्थानीय तहले बेरोजगार समस्या झेलिरहेका आकाङ्क्षीलाई रोजगारदाताको सम्पर्क ल्याउने कार्यले औद्योगिक जनशक्ति व्यवस्थापनमा सहज हुने बताउनुभयो ।
साना, घरेलु तथा मझौला उद्योग महासङ्घ मोरङका अध्यक्ष चेतन निरौलाले आत्मनिर्भरताका लागि उद्योग स्थापना गर्नेका लागि बिउ पुँजी व्यवस्थापन गर्नका लागि सुझाव दिनुभयो । विराट् व्यापार सङ्घका उपाध्यक्ष शरद श्रेष्ठले व्यापारिक प्रतिष्ठानलाई आवश्यक जनशक्ति रोजगार मेलाबाट पर्याप्त आपूर्ति गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले १० जनालाई मेलास्थलबाटै नियुक्ति दिने गरी सूचना आह्वान गरेको छ ।