• २ पुस २०८१, मङ्गलबार

ठुला दलप्रति भ्रम फैलाउने काम भइरहेको छ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय राजनीतिमा एक खालको निराशा र कुण्ठा बढेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा सोमबार आयोजित प्रथम विधान अधिवेशन तथा १८ औँ केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले देशमा सबै सकियो भन्ने खालका भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको बताउनुभयो । 

एक खालको समूहले पुराना दलको औचित्य सकियो भन्ने प्रकारको भ्रम फिँजाउने काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो । महासचिव पोखरेलले भन्नुभयो, “लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न सकिन्छ भनेर राजनीति र ठुला दलप्रति भ्रम फैलाउने काम भइरहेको छ ।” पछिल्लो समय एमालेलाई  कमजोर बनाउनका लागि विभिन्न खालका भ्रामक प्रचार गरिएकाले त्यसलाई चिर्न नेता तथा कार्यकर्तालाई पोखरेलले निर्देशन दिनुभयो । एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेले एमालेमाथि प्रहार गरेर राजनीतिमा निराशा जगाउने प्रयत्न भइरहेकाले सचेत हुन नेता तथा कार्यकर्तालाई उहाँले अनुरोध गर्नुभयो । एमालेको विरासतलाई समाप्त पार्ने गरी विगतमा भएको षड्यन्त्रलाई एमालेले परास्त गरी पार्टीलाई रक्षा गरेर अघि बढेको पोखरेलले बताउनुभयो । 

अहिले सबै क्षेत्रमा सामाजिक अराजकता बढेको भन्दै महासचिव पोखरेलले यो लोकतन्त्र र देशकै लागि हानिकारक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अराजकतावाद कति घातक हुन्छ भने यसले राष्ट्रिय दृष्टिकोण बन्न दिँदै दिँदैन । यो समाजका लागि विषाक्त चिज हो भन्ने बुझ्नु पर्छ ।’’

कांग्रेस–एमाले सरकारका लागि मात्र नमिलेको उहाँले स्पष्ट पार्नुभयो । प्रमुख दलहरू एक्लाएक्लै चुनाव लडेर एउटा दलले बहुमतको सरकार बनाउने र अर्को प्रमुख दल प्रतिपक्षमा रहने खालका वातावरण बनाउन अहिलेको सरकार बनेको पोखरेलले स्पष्ट पार्नुभयो । देशका ठुला राजनीतिक दल मिलेर अहिलेको सरकार बनेकाले दुई दलले चाहँदासम्म कसैले चाहेर यो सरकार नढल्ने उहाँले बताउनुभयो । यो कुरा बुझेर नडराई काम गर्न उहाँले कर्मचारीलाई आग्रह गर्नुभयो । समृद्ध नेपाल सुखी नेपाली कुनै व्यक्ति वा दल विशेषको योजना नभएको उहाँले स्पष्ट पार्नुभयो ।