गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २ गते । सर्वोच्च अदालतले नेकपा (एमाले) को पार्टी कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने निर्णयविरुद्धको रिट खारेज गरेको छ । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार रिट खारेज गरेको हो । रिट खारेजसँगै जग्गाको स्वामित्व हस्तान्तरण र रोकिएको भवन निर्माण प्रक्रिया अघि बढाउने कानुनी बाटो खुलेको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले रिट खारेज भएको तर लिखित आदेश तयार भइनसकेको जानकारी दिनुभयो ।
एमालेको पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी समूहका तर्फबाट कीर्तिपुर नगरपालिकामा जग्गा दान भएको थियो । सुरुमा दरपीठ भएको रिट सर्वोच्चको एकल इजलासको आदेशले दर्ता भएको थियो । भाटभटेनी समूहले १० रोपनी १४ आना जग्गा दान गरेको थियो ।
रिटमा सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै कात्तिक १२ गते जग्गाको स्वामित्व हस्तान्तरण प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले कात्तिक २६ गते दुवै पक्षलाई छलफलमा झिकाउन आदेश पनि गरेको थियो ।