गोरखापत्र अनलाइन
काठमाडौं, पुस १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्ने काम सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा ‘द राइजिङ नेपाल’ को ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सुशासन कायम भएमात्र राजनीतिक स्थिरता कायम हुने बताउनुभयो । उहाँले सरकारको स्थिरता कायम भए मात्र विकास निर्माण सम्भव हुने बताउनुभयो । उहाँले सुशासन कायम गर्नका लागि ठूला राजनीतिक दलहरु एकताबद्ध हुनुपर्ने र सोहीअनुसार अहिले नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको बताउनुभयो ।
उहाँले पुँजीगत खर्च बढाउने कुरा सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले अहिलेको सरकारले जनताका माग सम्बोधन गर्नेगरी कामहरु अघि बढाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुशासन कायम गर्ने काम अहिलेको सरकारको मुख्य लक्ष्य हो । सुशासन कायम भयो भने राजनीतिक स्थिरता पनि कायम हुन्छ, सरकारको स्थिरता पनि कायम हुन्छ ।’
सरकारको स्थिरता कायम हुँदा राजनीतिमा राम्रो हुन्छ भन्नुहुँदै राजनीतिक स्थिरता कायम गर्न, सुशासन कायम गर्न पनि पहिला ठूला राजनीतिक दलहरुमा एकता कायम हुनुपर्ने बताउनुभयो । अहिले काँग्रेस र एमालेबिचको सरकार बनाएर सुशासन दिएका छौँ । “भ्यागुताको धार्नी पुगाउनुपर्ने स्थितिको अन्त्य गरेका छौँ । सुशासन आजको मुख्य एजेण्डा हो । पुँजीगत खर्च बढाउने कुरा आजको हाम्रो मुख्य एजेण्डा हो । जनतासँग रेस्पोन्सिब ढंगले काम गरिरहेका छौं”
मन्त्री गुरुङले भन्नुभयो, “वर्तमान सरकारले आफ्नो कार्यशैलीमा सुधार गरेर काम गरिरहेका छौं । आजको आवश्यकताअनुसार ऋण सहायता पनि लिनुपर्ने आवश्यकता छ ।” यो सरकार आएपछि मुलुकको राजस्व वृद्धि हुँदै गएको पनि उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा मन्त्री गुरुङले सरकारी सञ्चार माध्यमलाई अरु सञ्चार माध्यमभन्दा अब्बल बनाउनेगरी सरकारले काम गर्ने बताउनुहुँदै उहाँले भन्नुभयो, “सरकारी सञ्चार माध्यम निष्पक्ष र सत्यतथ्य समाचार पस्किन्छन् भन्ने जनतामा विश्वास छ । त्यो विश्वासलाई कायम राख्दै अरुभन्दा अब्बल बन्ने प्रयासमा सरकारी सञ्चारमाध्यम लाग्नुपर्छ ।”
मन्त्रालयका सचिव राधिका अर्यालले गोरखापत्र संस्थानको प्रकाशनले जनतालाई सुसूचित मात्र गरेको छैन, भाषा साहित्य र संस्कृतिको विकासमा समेत योगदान दिएको चर्चा गर्नुभयो । सूचना प्रविधिको विकासले अब सूचनामा भूगोल नरहेको चर्चा गर्नुहुँदै उहाँले न्यूमिडियाको विकासले परम्परागत मिडियाहरुलाई चुनौती थपिरहेको बताउनुभयो । भाषिक रुपले गोरखापत्रका प्रकाशनले विश्वभरका पाठक र श्रोतालाई सहयोग गरिरहेको उहाँको भनाइ छ ।