काठमाडौं, पुस १ गते । वि.सं. २०२२ साल पुस १ गते बिहिवार (१६ डिसेम्बर १९६५) बाट प्रकाशन शुरु भएको ‘दी राइजिङ नेपाल’ गोरखापत्र संस्थानद्वारा प्रकाशन गरिने अङ्ग्रेजी भाषाको राष्ट्रिय दैनिक अखबार हो ।
ब्रोडसिट आकारमा प्रकाशन हुने यो नेपालको पहिलो अङ्ग्रेजी भाषाको दैनिक अखबार हो । याे समाचारपत्र आज पुस १ गते सोमबार (१६ डिसेम्बर २०२४) बाट ५९ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा आज यो अखबारले आफ्नो ५९ औं वार्षिकोत्सव काठमाडौंमा मनाउँदैछ ।
आफ्नो विगत इतिहासको समीक्षा गर्दै आगामी दिनमा आफ्ना पाठकलाई तथ्यगत र उपयोगी सूचना सम्प्रेषण गर्दै राष्ट्रको हित र समृद्धिमा कसरी समयसापेक्ष योगदान गर्ने भन्नेबारे छलफल र प्रण गर्ने यो उपयुक्त अवसर हो ।
नेपालको पहिलो ब्रोडसिट अङ्ग्रेजी दैनिकको स्थान ‘दि राइजिङ नेपाल’ लाई प्राप्त छ र आज प्रकाशनको ६ दशकतर्फ लम्कँदै गर्दा निरन्तर रुपमा प्रकाशन हुने राष्ट्रिय दैनिकको गौरवशाली इतिहास यसले बोकेको छ ।
दि राइजिङ नेपाल प्रकाशनको सुरुवात नेपाल, नेपाली समाज र सरकारको नीति एवम् क्रियाकलापबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउने उद्देश्यले भएको देखिन्छ । आज पनि यस समाचारपत्रको उद्देश्य राष्ट्र र जनताको हितलाई केन्द्रमा राखी देशभित्र र देश बाहिर रहेका अङ्ग्रेजी भाषी पाठकहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाका बारेमा सुसूचित गराउने रहेको जानकारी सो दैनिकका निमित्त प्रधान सम्पादक भीमसेन थपलियाले दिनुभयो ।
प्रकाशनको आरम्भदेखि हालसम्म बन्द नभई अनवरतरुपमा प्रकाशन हुँदै आएको नेपालबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक अखबार ‘दि राइजिङ नेपाल’ एक मात्र हो । विसं. २०७२ विनाशकारी भूकम्प र कोभिड–१९ महामारीको ‘लक डाउन’ को सङ्क्रमणमा पनि यो अखबार निरन्तर प्रकाशनमा रह्यो ।
वि.स. १९५८ बैशाख २४ गते प्रकाशन आरम्भ भएको ‘गोरखापत्र’ को अंग्रेजी सह–प्रकाशन ‘दि राइजिङ नेपाल’ हो । गोरखापत्र प्रकाशन भएको ६४ वर्षपछि गोरखापत्र संस्थानले ‘दि राइजिङ नेपाल’ को प्रकाशन शुरु गरेको थियो ।
नेपालमा अङ्ग्रेजी भाषामा प्रकाशन हुने समाचारपत्रको इतिहासमा ‘दी राइजिङ नेपाल ’ शुरुवात हुनुअघि ‘दि कमनर’ तथा ‘दि मदरल्याण्ड’ अखबार प्रकाशित भएका थिए तर यिनीहरु साना (ट्यावलोइड) आकारका थिए र तिनीहरु अहिले बन्द भइसकेका छन ।
नेपालको पहिलो ब्रोडसिट अङ्ग्रेजी दैनिकको स्थान ‘दि राइजिङ नेपाल’ लाई प्राप्त छ र आज प्रकाशनको ६ दशकतर्फ लम्कँदै गर्दा निरन्तररुपमा प्रकाशन हुने राष्ट्रिय दैनिकको गौरवशाली इतिहास यसले बोकेको छ ।
दि राइजिङ नेपालको आरम्भ अङ्कको सम्पादकीयमा भनिएको छ “हाम्रो उद्देश्य संसारभरिका नेपालका मित्रहरुलाई नेपाल र नेपाली जनताका बारेमा दृष्टिकोण स्पष्टरुपमा सुसूचित गर्नु हो ।’’
यसको दर्ता नं. २९।२२८।०२२ हो र पहिलो प्रधानसम्पादक वरुणशमशेर जबरा हुनुहुन्थ्यो । र यस अङ्ग्रेजी दैनिकको विगत ५८ वर्षको इतिहासमा १५ जना व्यक्तित्वहरुले प्रधान सम्म्पदकको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
प्रारम्भमा दि राइजिङ्ग नेपालको नारा ‘जनहितका लागि’ भनी उल्लेख भएको थियो । वर्तमानमा यस दैनिकको नारा ‘सबै सुखी र सबै निरोगी रहून’ भन्ने उल्लेख छ ।
हप्तामा आइतबारदेखि विहिवारसम्म दैनिक आठ पृष्ठमा प्रकाशन हुने दि राइजिङ नेपाल हरेक शुक्रबार अतिरिक्त चार पृष्ठको ‘फ्राइडे सप्लिमेन्ट’ सहित १२ पृष्ठमा प्रकाशित भइरहेको छ । संविधान दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसजस्ता राष्ट्रिय महत्वका विशेष अवसरहरुमा विशेषाङ्कहरु प्रकाशित हुँदै आएका छन् ।
राष्ट्रिय तथा विश्व समाचार सामग्री, लेख रचना र सम्पादकीयको साथै दि राइजिङ नेपालले कला, साहित्य, संस्कृति, अर्थ, राजनीति, वातावरण संरक्षण, स्वास्थ्य तथा विकास निर्माण सम्बन्धी खोजमूलक फिचर सामग्री पनि प्रकाशन गर्दै आएको छ ।
विगत ५८ वर्षमा भएका महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरु यस दैनिक पत्रिकाका पृष्ठहरुमा इतिहासको अभिलेख र दस्तावेजको रुपमा अङ्कित छन्, जुन इतिहासकार र सञ्चारसम्बन्धी अनुसन्धानकर्ताका लागि बहुमूल्य सूचना स्रोतको रुपमा रहेको छ ।
यस अर्थमा गोरखापत्र संस्थानले एक ‘मिडिया एकेडेमी’ को रुपमा विकास गर्नुपर्ने हैसियत राख्दछ भने गोरखापत्र तथा दि राइजिङ नेपालमा प्रकाशित भएका सामग्रीहरु अमूल्य सूचना सम्पत्तिको रुपमा रहेका छन् ।
सुरुमा ‘दि राइजिङ नेपाल’ २०”×३०” को आकारमा छापिन्थ्यो । राष्ट्रिय सञ्चार सेवा योजना लागू भएपछि यो समाचारपत्र २४”×३३” को आकारमा प्रकाशन हुन थाल्यो । त्यस्तै, प्रारम्भमा हाते कम्पोजबाट छपाइ हुन्थ्यो । यसपछि मोनो र लाइनो टाइपको सुविधा प्राप्त भयो । प्रविधिको विकास क्रमसँगै फोटो कम्पोज गरी वेभ अफसेटबाट दैनिक प्रकाशन हुन थाल्यो । यो अखबार राष्ट्रिय जनमतसङ्ग्रहपछि दैनिक आठ पृष्ठमा प्रकाशन हुन थाल्यो । अहिले सिटुपी प्रविधिबाट वेभ अफसेट प्रेसमा छापिन्छ ।
सूचना प्रविधिको विकास तीव्र गतिमा भइरहेको वर्तमान सन्दर्भमा दि राइजिङ्ग नेपाललाई समयसापेक्ष बनाउनु चुनौतिको रुपमा देखापरेको छ । छापाको इतिहासलाई कायम राख्दै डिजिटलमा फड्को मारेर आफ्नो भविष्यलाई सुनिश्चित गर्ने अभियानमा याे लागेकाे छ ।
छापा माध्यमका सामग्रीका साथै तत्कालका समाचार सामग्रीलाई दी राइजिङ नेपालको डिजिटल प्रकाशन ‘राइजिङडेलीडटकम (https://www.risingnepaldaily.com) मार्फत पनि देश विदेशका पाठकसम्म पहुँच विस्तार गरेको छ । छापाको पहुँच विस्तार गर्नुका साथै डिजिटल प्रकाशनलाई अझै विस्तार र सुदृढ गर्नुपर्ने चुनौती भने छँदैछ ।