• १ पुस २०८१, सोमबार

ललितपुर महानगरको पाँच ठाउँमा इन्टिलिजेन्ट ट्राफिक लाइट

blog

महानगरका प्रमुख चिरीबाबु महर्जन पुल्चोकस्थित महानगर कार्यालय अगाडिको चोकमा राखिएको लाइटको उद्घाटन कार्यक्रममा सहभागी हुनुहुँदै ।

ललितपुर, पुस १ गते । ललितपुर महानगरले इन्टेलिजेन्स ट्राफिक लाइट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडिको चोकमा राखिएको लाइटको स्विच अन गरेर उक्त लाइटको उद्घाटन गर्नुभएको छ ।

इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारीसाधनको सङ्ख्या छ, त्यतैतिर हरियो बत्ती बाल्छन् । ललितपुर महानगरले कुपण्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरेको छ ।

पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँचवटा लाइट जडान गरिएको शहरीविकास योजना महाशाखा प्रमुख तथा यो परियोजनाको प्रमुख  डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिनुभयो । लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधनको सङ्ख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिप तथा सर्भरलाई जानकारी गराउँछ । सोही आधारमा सिस्टमले जता धेरै सवारीसाधन छन् त्यतातिर हरियो बत्ती बाल्छ । काठमाडौंतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०–५० सेकेण्ड मात्रै पर्खे पुग्छ । 

महानगरका प्रमुख महर्जनले ट्राफिक व्यवस्थापन गर्न यो लाइट जोडिएको बताउनुहुँदै यो नेपालमै पहिलो भएको धारणा राख्नुभयो । पाँच वर्षसम्म महानगरले मर्मत गर्न परे एक पैसा पनि खर्च गर्न नपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘ट्राफिक लाइटबिच भलाकुसारी हुन्छ, स्टपेज टाइम बढाउने, ग्रिन टाइम बढाउने घटाउने सन्दर्भमा कुराकानी हुन्छ ।’’ उहाँले नयाँ सिस्टम भएकाले जनचेतना आवश्यक भएको बताउनुभयो । जनचेतना जगाउनका लागि नगर प्रहरी र स्कुलका विद्यार्थीलाई महानगरले परिचालन गर्ने जानकारी पनि उहाँले दिनुभयो ।

नगर प्रमुख महर्जनले अर्को वर्ष चक्रपथ बाहिरका वडाका प्रमुख सडकमा पनि यो ट्राफिक लाइट जडान गर्ने जानकारी दिनुभयो ।

यो लाइट स्वचालित भएकाले अन्य परम्परागत ट्राफिक लाइटभन्दा फरक र सहज पनि छ । यससँगै राखिएको भेइकल डिटेक्टरले सवारीसाधनको नम्बर तथा विवरण रिड गर्छ । सिस्टमले नै कुन दिशातर्फ कति टाइमिङ चाहिने हो आफैँ सेट गर्छ ।


हाल यसको मनिटरिङ सिस्टम ट्राफिक कार्यालयमा राखिएको छ । यो लाइट फिक्स, पुलिस म्यानुअल, सिङ्क्रोनाइजेशन, एटिसिएस लगायत आवश्यकता अनुसारको मोडमा प्रयोग गर्न सकिने प्राविधिक सुयोसभक्त माथेमाले बताउनुभयो । उहाँका अनुसार यसमा पाँच वर्षसम्म डेटा स्टोर हुन्छ । यो लाइटले सवारीसाधनको र दुर्घटनाको रेकर्डसमेत रहन्छ । लाइट जडान गरेको नमुना पावर ग्रेड जेभिले सुरुमा ११७ स्थानमा सम्भाव्यता अध्ययन गरेपनि हाललाई धेरै ट्राफिक हुने स्थानमा यो लाइट जडान गरिएको नगरप्रमख महर्जनले बताउनुभयो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता उपरीक्षक सञ्जयबहादुर राउतलेप्रविधि मैत्री नहँदा धेरै जनशक्ति सडकमा खटिनुपरेको बताउनुभयो । ६४ स्थानमा ट्राफिक लाइट भए पनि विभिन्न कारणले ३५ स्थानमा मात्रै सञ्चालनमा रहेको उहाँको भनाइ छ ।

महानगरले जडान गरेको इन्टिलिजेन्ट ट्राफिक लाइटले प्रभावकारी ट्राफिक व्यवस्थापन हुने, यात्रुको जोखिम न्यूनीकरण, व्यवस्थित सहरीकरण, दिगो विकासका लागि महानगरले जडान गरेको ट्राफिक लाइटले सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

ललितपुर क्षेत्र नंं.२ का सङ्घीय सांसद प्रेम महर्जनले ट्राफिक लाइट व्यवस्थित सहरको महत्त्वपूर्ण अवयव भएको बताउनुभयो । ललितपुर महानगरले जडान गरेको यो अत्याधुनिक ट्राफिक लाइटले सहरको विकास र यात्रु र सवारीसाधनको सुरक्षामा महत्त्वपूर्ण फड्को भएको दाबी गर्नुभयो । 

बागमती प्रदेशका पूर्वमन्त्री रामकृष्ण चित्रकार काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ललितपुर महानगरले जडान गरेको इन्टिलिजेन्ट ट्राफिकको भूमिका महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जनताले अनुभूति गर्ने क्षेत्रमा काम गरेकोमा महानगरपालिकालाई धेरै धेरै धन्यवाद ।’’

बागमती प्रदेशका श्रम मन्त्री प्रेमभक्त महर्जनले ट्राफिक व्यवस्थापन पालिकाको मात्रै नभएर प्रदेशको नै समस्या भएको बताए । ट्राफिक व्यवस्थापनका लागि ललितपुर महानगरले जडान गरेको इन्टिलिजेन्ट ट्राफिक लाइट महत्त्वपूर्ण फड्को भएको बताउनुभयो ।