प्राकृतिक स्रोतसाधनको अति दोहनले सीमित मानिसले अकुत धन आर्जन गरे पनि पृथ्वीको मौलिक चरित्रलाई भने खियाइरहेका छन् । जैविक इन्धनको अति दोहनले पृथ्वीको ताममान निरन्तर बढिरहेको छ । जलवायु परिवर्तनका चुनौतीको सामना गर्न विश्वलाई नै हम्मे परिरहेका बेला वायु प्रदूषणको समस्या पनि उस्तै गरी बढ्दो क्रममा छ । विश्वका कतिपय सहर प्रदूषणका कारण चर्को सङ्कटमा छन् । केही दिनअघि भारतको नयाँ दिल्लीमा वायु प्रदूषणका कारण विद्यालयमा पनि अनलाइन प्रक्रियाबाट पठनपाठन गर्नु परेको घटना ताजै छ । यस्ता परिघटनाकै बिच एउटा नयाँ अध्ययनले वायु गुणस्तरप्रति नेपाल पनि गम्भीर हुनुपर्ने बनाएको छ ।
नयाँ अध्ययनले नेपालका प्रमुख सहर वायु प्रदूषणको चपेटामा पर्दै गएको देखाएको छ । वायुको गुणस्तर अस्वस्थ बन्दै जाँदा सुधारका निम्ति सरकारी तथा निजीस्तरमा ठुलै पहल गर्नुपर्ने देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान केन्द्रले गरेको अध्ययनले नेपाली सहरहरूमा बढ्दो प्रदूषणले भविष्यमा ठुलो सङ्कट निम्त्याउन सक्ने देखिएको छ । केन्द्रका वरिष्ठ अध्येता डा. मेघनाथ धिमालका अनुसार नेपालका प्रमुख सहरको वायु बिहान बेलुका हिँड्न नमिल्ने गरी प्रदूषित हुँदै गएको छ । वायु गुणस्तरको सूचकाङ्कमा काठमाडौँ विश्वको प्रदूषित सहरको सातौँ सूचीमा परेको जानकारी योभन्दा अघि नै आइसकेको हो । काठमाडौँको एक्युआई (वायुको गुणस्तर सूचकाङ्क) १७० रहेको एअर क्वालिटी इन्डेक्सले केही समयअघि देखाएको थियो । आइक्युएअरका अनुसार दक्षिण एसियाका अन्य सहरमा पनि उच्च प्रदूषण देखिँदा वायु प्रदूषणको समस्या दक्षिण एसियामै उच्च देखिनु यस क्षेत्रकै चुनौती हो । बङ्गलादेश, भारत र पाकिस्तानका सहर झनै उच्च प्रदूषित छन् । पाकिस्तानको लाहोर भारतको राजधानीसमेत रहेको दिल्ली अनि बङ्लादेशको ढाका क्रमशः ७१८, ६४९ र २२९ एक्युआईका साथ पहिलो, दोस्रो र तेस्रो स्थानमा देखिए । भारतको कोलकाता पनि १७७ अङ्कका साथ चौथोमा छ । यसले वायुको गुणस्तर सुधार गर्न क्षेत्रीय स्तरमै नयाँ पहलको पनि खाँचो देखिन्छ ।
नयाँ अध्ययनले नेपालको काठमाडौँसँगै अन्य सहर पनि प्रदूषणको चपेटामा परेको देखिँदा जोखिम झनै बढेको छ । कपिलवस्तु, विराटनगरसहितका प्रमुख सहर झन् बढी प्रदूषित हुँदै गएको पाइएको छ । वायु प्रदूषणले मानिसलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रतिकूल असर पार्छ । मुटु, फोक्सोमा असर र क्यान्सरलगायतका रोग वायु प्रदूषणसँग सम्बन्धित हुने जानकारको भनाइ छ । काठमाडौँमा शुक्रबार आयोजित वातावरणीय मानव अधिकार रक्षकहरूको दोस्रो सम्मेलनमा सहभागी विज्ञहरूले वायुको गुणस्तर नसुधारिए त्यसले भविष्यमा ठुलो मानवीय स्वास्थ्य सङ्कट निम्त्याउने औँल्याए । विज्ञहरूले वायु प्रदूषण र यसले नेपालमा निम्त्याएको व्यावहारिक र कानुनी चुनौतीका बारेमा गम्भीर बन्न पनि सुझाव दिए ।
हुन त विश्वमै वायु प्रदूषणको समस्या उच्च बन्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायु प्रदूषणकै कारण विश्वभर प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा प्रत्येक वर्ष ४० हजार भन्दा बढी मानिसको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको विज्ञको भनाइ मान्ने हो भने यो सानो चुनौती होइन । कोभिड महामारीमा दुई वर्षमा १२ हजार मानिसको मृत्यु भएको तुलना गर्ने हो भने यो समस्या चर्को हो । अस्वस्थकर वायु भविष्यमा अझ धेरै मानिसको ज्यान दिने कारण बन्न सक्ने देखिन्छ । यो वर्षको वायु प्रदूषणको तथ्य अनुसार विश्वमा सात लाख नौ हजार बालबालिकाको मृत्यु यही कारण भएको देखिनु ठुलो चुनौती हो । त्यसमा पनि ७० प्रतिशत बालबालिकाको मृत्यु घरभित्रको वायु प्रदूषणका कारण भएको अध्ययन नतिजा छ ।
नेपालको संविधानले मौलिक हकमा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको हक दिएको छ । स्वच्छ वातावरण दुर्लभ बन्दै छ । यातायात र कलकारखानामा प्रयोग हुने जैविक इन्धन प्रदूषणको मूल कारण बन्दै छ । हरित ऊर्जातर्फको यात्रा अति सुस्त छ । नवीकरणीय हरित ऊर्जाको प्रयोग विश्वव्यापी रूपमा बढाउनु जरुरी छ । नेपाल हरित ऊर्जाको अपार सम्भावनाको मुलुक हो । यहाँको जल, वायु र सौर्य ताप हरित ऊर्जाका निम्ति सम्भावनाका भरपर्दा स्रोत हुन् र तिनले दक्षिण एसियाकै ऊर्जा बजारमा ठुलो योगदान दिन सक्छन् । लगानी, नीतिगत समस्या, बजार अवरोध आदिका कारण सहज भएको छैन । आगामी दिनमा वायु प्रदूषण न्यून गर्न सम्बद्ध पक्ष गम्भीर हुनैपर्ने देखिएको छ ।