• २९ मंसिर २०८१, शनिबार

अमेरिकी विदेशमन्त्री र इराकी प्रधानमन्त्रीबिच भेट

blog

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन

वाशिङ्गटन, मङ्सिर २९ गते । मध्य पूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार बगदादमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीसँग भेट गर्नुभएको छ । विदेशमन्त्रीले इराकको सुरक्षा, स्थिरता र सार्वभौमसत्ताप्रति अमेरिकाको प्रतिबद्धतालाई जोड दिनुभयो ।

“इराकी प्रधानमन्त्री सुडानी र मैले सिरियाको पछिल्लो घटनाक्रमबारे छलफल गर्न भेट्यौं । मैले इराकको सुरक्षा, स्थिरता र सार्वभौमिकताप्रतिको हाम्रो प्रतिबद्धतालाई जोड दिएँ,” ब्लिन्केनले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गर्नुभएको छ ।

अल जजीराका अनुसार ब्लिन्केन र अल–सुदानीले सिरियाको तानाशाहीबाट प्रजातन्त्रमा परिवर्तनको आवश्यकतालाई समावेशी र सबै अल्पसङ्ख्यकहरूको सुरक्षाको लागि छलफल गर्नुभयो ।

सिरियाका नवनियुक्त प्रधानमन्त्री मोहम्मद अल–बसिरले विदेशमा रहेका सिरियाली शरणार्थीहरूलाई स्वदेश फिर्ता गर्ने कुरालाई आफ्नो प्रमुख लक्ष्यका रूपमा लिएका छन् । अल–बशीरले देशमा स्थायित्व पुनर्स्थापना गर्ने प्रयासहरूको एक भागको रूपमा विदेशमा रहेका लाखौं सिरियाली शरणार्थीहरूलाई स्वदेश फर्काउने लक्ष्य राखेका छन् । रासस/एएनआई