कन्हैयालाल केशरी
पर्सा, मङ्सिर २९ गते । मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाँले मधेश प्रदेशमा पर्यटकको सवारी साधनको आवतजावतमा कुनै अवरोध नरहेको बताउनुभएको छ ।
मन्त्री मियाँले शनिबार वीरगन्जमा पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपको आयोजनामा एवम् होटेल व्यवसायी संघ पर्साको सहआयोजनामा सम्पन्न पर्यटक सुरक्षा र प्रवर्द्धनमा पर्यटकको भूमीका विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
मधेश प्रदेशका भारतीय सिमानाकासँग जाडिएकाले भारतीय पर्यटकलाई बोकेर आउने सवारी साधनलाई चेकजाचँको नाममा दुःख दिने काम सुरक्षा निकायद्वारा हुने गरेको गुनासो भ्रम फैलालाउने उद्देश्यबाट गरिएको उहाँको भनाइ छ ।
उहाँले मधेश प्रदेशमा पर्यटन स्थलको सम्भावना निकै रहेकाले प्रदेश सरकारले संघीय सरकारको सहकार्यमा त्यस्ता पर्यटकीय स्थलको पहिचान गरी पर्यटकीय तथा रमणीय स्थलको विकास र विस्तार गरिने जानकारी दिनुभयो ।
मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानीरिक्षक लालमणि आर्चायले नियतबस कुनै पनि भारतीय नम्बर प्लेटको सवारी साधनको आवत जावतका कुनै प्रकारको अवरोध प्रहरीबाट नहुने बताउनुभयो ।
उहाँले खुल्ला सिमानाकाका कारण केही समस्या देखिएको र आपाराधिक गतिविधिमा भारतीय नम्बर प्लेटको सवारी साधनको प्रयोग बेलाबखतमा हुने गरिएकाले निगरानी बढाइएको भए पनि पर्यटक बोकेको सवारी साधनमा कुनै अवरोध नहोस् भनि आफैँले निगरानी गर्ने गरेको बताउनुभयो ।
कार्यक्रमका सभापति होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले मधेश प्रदेशमा पर्यटन र पर्यटन व्यवसायी मैत्री नभएकाले यसमा सुधारका साथै तीनै तहका सरकारको सहभागिता मैत्रीपूर्ण रुपमा हुनुपर्ने सुझाव दिनुभयो ।