• ३ साउन २०८१, बिहिबार

हेटौँडा उपमहानगरको प्रमुखमा लामाको अग्रता कायमै

blog

राममणि दाहाल

हेटौँडा, जेठ ६ गते । हेटौँडा उपमहानगरपालिकामा ६५ हजार २९५ मत गणना हुँदा नगर प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार मीना लामाको अग्रता कायमै छ । गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लामाले २० हजार ४८२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार अनन्त पौडेलले १८ हजार ७५३ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तेस्रो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंहले १८ हजार १७६ मत प्राप्त गर्नुभएको छ । हेटौँडा उपमहानगरपालिकाको यस पटकको निर्वाचनको मतगणना रोचक बनेको छ ।

सुरुमा गठबन्धनका उम्मेदवार हुँदै एमालेका पौडेल र राप्रपाका सिंहले अग्रता लिनुभएकोमा अहिले सिंह तेश्रो स्थानमा पुग्नुभएको छ । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका राजेश बानियाँले २९ हजार ३२०, एमालेका सुमित्रा काफ्लेले २१ हजार २३२ र राप्रपाका इन्दिरा न्यौपानेले चार हजार ७१८ मत प्राप्त गर्नुभएको छ ।उपमहानगरमा ७३ हजार ४१४ मत खसेको थियो ।

१९ वडा रहेको पालिकामा ९, १०, ११, १२ र १३ को मतगणना जारी छ । वडाको पछिल्लो मत परिणामअनुसार एमालेको गढ रहेको हेटौँडा ८ मा गठबन्धनका तर्फबाट काँग्रेसका रामकृष्ण थापा वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । मत गणना जारी रहको बागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् ।