सर्लाही समाचारदाता
सर्लाही, मङ्सिर २९ गते । सर्लाहीमा जिल्ला प्रशासन कार्यालय मलङ्गवा र इलाका प्रशासन कार्यालय हरिवन दुवै ठाउँबाट राहदानीको सेवा पूर्ण रूपमा सुचारु भएको छ ।
दुुवै ठाउँमा बिहीबारदेखि राहदानीको काम नियमित भइसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुुभयो । राहदानी वितरणका लागि प्राविधिक समस्या उत्पन्न हुँदा अन्यत्र झैँ सर्लाहीमा पनि मङ्सिर ६ गतेदेखि काम रोकिएको थियो ।
केही जिल्लामा दुुई/चार दिनअघिदेखि सेवा सुचारु भएकोमा सर्लाहीसहितका अन्य जिल्लामा भने बल्ल सेवा सुचारु हुन सकेको हो । तीन सातासम्म राहदानीको काम रोकिँदा सेवाग्राही समस्यामा परेका थिए ।
धेरै दिनमा सेवा सुचारु भएसँगै जिल्ला प्रशासन कार्यालय मलङ्गवा र इलाका प्रशासन कार्यालय हरिवन दुवै ठाउँमा राहदानी शाखातर्फ सेवाग्राहीको भिड लागेको छ । इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापाले धेरै दिनमा सेवा सुचारु भएकाले बिहीबार र शुक्रबार दुुवै दिन पासपोर्टका लागि कार्यालय खुुल्ने समयसम्मै सेवाग्राही लाइनमा बसेका बताउनुुभयो ।
उहाँका अनुसार केही सेवाग्राहीलाई कार्यालय समयभित्र काम गर्न नभ्याएपछि घर फर्काइएको छ । सर्लाहीमा जिल्ला प्रशासन कार्यालय मलङ्गवा तथा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयको नागरिकता फाँटमा प्रायः सेवाग्राहीको भिड नै हुने गरेको छ । इलाका प्रशासन कार्यालय बरहथवामा अहिलेसम्म राहदानी सेवा शुुभारम्भ नै गरिएको छैन । त्यस भेगका सेवाग्राही मलङ्गवा र हरिवनमा सेवा लिन पुुग्ने गरेका छन् ।