• २९ मंसिर २०८१, शनिबार

कुष्ठरोगीसँग समान व्यवहार

blog

ढल्केबर समाचारदाता 

ढल्केबर, मङ्सिर २९ गते । कुष्ठरोगीलाई अझै समाजको डर छ । यो रोग लागेका व्यक्तिलाई कतिपय ठाउँमा अझै घृणाको दृष्टिले हेरिन्छ । माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म कीटाणुबाट लाग्ने कुष्ठरोग समयमै उपचार गराएमा पूर्ण रूपमा निको हुन्छ । देशका अधिकांश ठाउँमा कुष्ठरोगीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन नहुँदा कुष्ठरोगी आफ्नो रोग लुकाउन तथा समाजमा खुल्न सकेका छैनन् । 

धेरै ठाउँका कुष्ठरोगी घरपरिवार र समाजबाट अपहेलित भइरहेका बेला धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा भने त्यस्तो अवस्था छैन । यहाँका कुष्ठरोगीलाई समाजले समान व्यवहार देखाएका छन् । जसले गर्दा कुष्ठरोग लागेका व्यक्ति आफूलाई कुष्ठरोग लागेको भन्न हिचकिच्याउँदैनन् । विगतमा त्यस्ता रोगीलाई हेर्ने दृष्टिकोणमा फरक भए पनि अहिले भने लक्ष्मीनियाँवासीमा परिवर्तन आएको छ । कुष्ठरोगीसँत सँगै बस्ने, सँगै खानेलगायत हरेक क्रियाकलापमा सबै सहभागी हुन्छन् । 

लक्ष्मीनियाँ गाउँपालिका–२, सिनरजोडाका ६२ वर्षीय रामकरण दासले यहाँ कुष्ठरोगीसँँग कुनै भेदभाव नरहेको बताउनुभयो । स्वयम् कुष्ठरोगबाट मुक्त भएको बताउँदै उहाँले विगतमा कुष्ठरोगीसँग दुव्र्यवहार हुने गरेको भए पनि अहिले मानिसको धारणामा परिवर्तन भएको जानकारी दिनुभयो । 

२० वर्षको ठिटो उमेरमै आफूलाई कुष्ठरोग लागेको थियो । त्यसबखत घरपरिवारदेखि गाउँ समाजबाट दुव्र्यवहार खेप्नु प¥यो, उहाँले विगत सम्झिँदै भन्नुभयो, “घरपरिवारका सदस्यले खाने थाल र बस्ने, सुत्ने ठाउँसमेत अलग गरिदिएका थिए । यहाँसम्म कि भर्खर विवाह गरी ल्याइएको श्रीमती पनि छोडेर गइन् । गाउँ समाज तथा आफन्तले रोग सर्ला भनेर कुरा गर्न नमान्ने, सँगै आगो ताप्न नदिने, भोजभतेर सँगै खान नदिने, हजामले समेत कपाल काट्न नमान्ने दुःखान्त दासले सुनाउनुभयो । अहिले भने समाजमा चेतनाको विकास भएपछि पहिला जस्तो हेला खेप्नु परेको छैन । 

दास सिनगरजोडा स्वयम् सहायता समूहका संयोजकसमेत हुनुहुन्छ । कुष्ठरोगमुक्त, हात्तीपाइले र अपाङ्गता भएका व्यक्ति गरी २५ जना सो समूहमा आबद्ध छन् । समूहका सदस्यले कुष्ठरोगप्रतिको नकारात्मक धारणा हटाउन जनचेतना फैलाउने र समाजमा पुनस्र्थापित हुने कार्य गरिरहेका छन् । गाउँघरमा कुष्ठरोगलाई अघिल्लो जन्मको पाप भनी कुष्ठरोग लाग्नेबित्तिकै घरपरिवारबाटै अलग्गै राख्ने विगतको सामाजिक कुरीतिविरुद्ध उहाँहरू लाग्नुभएको छ ।

सोही ठाउँकी ५० वर्षीय रामरसी दासलाई पाँच वर्षअघि कुष्ठरोग लागेको थियो । स्वास्थ्य जाँचपछि नियमित औषधी सेवन गरेपछि उहाँको रोग निको भएको छ । उहाँले सो रोग हुँदा कतैबाट हेला खेप्नु नपरेको बताउनुभयो । घरका सदस्यले औषधोपचार गराउन लैजाने र सँगै खाने बस्ने गरेको रामरसीले सुनाउनुभयो । 

सिगरजोडा हेल्थपोस्टका इन्चार्ज कृष्णप्रसाद यादवले कुष्ठरोगीसँग गरिने पहिला जस्तो भेदभाव अहिले नरहेको बताउनुभयो । जिल्लामा सबैभन्दा बढी कुष्ठरोगी यसै पालिकामा पहिचान गरिएको बताउँदै उहाँले सिनरजोडा गाउँमा मात्र छ जना सव्रिmय कुष्ठरोगी रहेको जानकारी दिनुभयो । कुष्ठरोग औषधी सेवन गरेपछि निको हुन्छ र सर्दैन भन्ने चेतनाको विकास भएको उहाँको भनाइ छ । 

लालगढ कुष्ठरोग अस्पतालका सामुदायिक स्वास्थ्य तथा विकास विभाग प्रमुख रमेश चौधरीले कुष्ठरोगीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन भइरहेको बताउनुभयो । कुष्ठरोग उपचारबाट निको हुने रोग भएकाले यो कुनै अघिल्लो जुनीको पाप नभएको जानकारी दिन जनचेतना, मनोविमर्श शिविर चलाउने गरिएको उहाँले जानकारी दिनुभयो । 

उहाँले कुष्ठरोगी, हात्तीपाइले र अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही तथा बागमती प्रदेशको सिन्धुली जिल्लामा गरी ११५ वटा स्वयम् सहायता समूह गठन गरिएको उहाँले जानकारी दिनुभयो । समूहमार्फत उहाँहरूको आर्थिक, सामाजिक र सम्मानपूर्वक बाँच्न सहयोग पुगेको छ । उहाँहरू आर्थिक रूपले सबल बन्न समूहमा बचत गर्ने गरेको बताउँदै चौधरीले प्रत्येक समूहलाई ७५ हजार रुपियाँ आर्थिक सहयोग गरेर बिउ पुँजी खडा गरिदिएको बताउनुभयो ।