• १६ वैशाख २०८२, मङ्गलबार

संसद् सेवा दिवस

प्रभावकारी बनाउन सामूहिक प्रयास आवश्यक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २९ गते । निजामती सेवाबाट अलग गरी स्वायत्त रूपमा संसद् सेवा गठनको स्मरणमा सङ्घीय संसद् सचिवालयले संसद् सेवा दिवस मनाएको छ । संवैधानिक व्यवस्था अनुसार अहिले छुट्टै संसद् सेवा प्रचलनमा छ । निजामती सेवाबाट अलग गरिएको भने २३ वर्ष भएको छ । छुट्टै कानुनद्वारा विशिष्ट सेवाका रूपमा संसद् सेवा स्थापना भएको मङ्सिर २८ मा हरेक वर्ष दिवस मनाइने गरिएको छ । 

शुक्रबार सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर, उपाध्यक्ष बिमला घिमिरेलगायतका पदाधिकारीको उपस्थितिमा दिवस मनाइएको हो । सो अवसरमा सभामुख घिमिरेले सेवाको प्रभावकारिताका लागि आन्तरिक समीक्षा गर्दैै थप भूमिका खेल्नुपर्ने बताउनुभयो । घिमिरेले संसद्लाई प्रभावकारी बनाउन सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको पनि बताउनुभयो । संसद् सेवा र संसद्को महत्व बढाउने गरी समयसापेक्ष रूपमा कानुन सुधार आवश्यक रहेको पनि उहाँले बताउनुभयो । 

सेवाको प्रभावकारिताले मात्र दिवसको सान्दर्भिकता बढाउने सभामुख घिमिरको भनाइ थियो । छुट्टै सेवा स्थापनाको प्रभावकारिता पुष्टिको दायित्व पनि रहेको उहाँको भनाइ थियो । संसद्ले कानुन निर्माणमा मात्र नभई, कूटनीतिमा पनि भूमिका खेल्न सक्ने घिमिरेले बताउनुभयो । 

 राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद् आफ्नो भूमिका अनुसार काम गर्न सफल भए वा नभएकोबारे मूल्याङ्कन आवश्यक रहेको बताउनुभयो । उहाँले छुट्टै सेवाका रूपमा संसद् सेवाको कामकाजको मूल्याङ्कन पनि आवश्यक रहेको बताउनुभयो । दाहालले संसद् सेवा पुनर्संरचनाको आवश्यकता रहेको बताउनुभयो । 

संसद् सेवालाई प्रविधिसँग जोडेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । संसद्का गतिविधिलाई जनताको पहुँच र सहभागिता बढाउनेतर्फ केन्द्रित हुनुपर्नेमा दाहालले जोड दिनुभयो । संसदीय अध्ययन अनुसन्धान केन्द्रको स्थापना हुनुपर्ने दाहालको भनाइ थियो । संसद् सेवाका कर्मचारीको वृत्तिविकासलाई समयसापेक्ष बनाइनुपर्ने उहाँको जोड थियो । 

उपसभामुख इन्दिरा रानामगरले सेवालाई प्रभावकारी बनाउन कर्मचारीका आवश्यकता र न्यूनतम सवाल पूरा हुनुपर्ने बताउनुभयो । सेवाका कर्मचारीका प्रशासनभित्र रहेका समस्या समाधानका लागि पहल गर्ने उहाँले बताउनुभयो । राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले छुट्टै सेवा स्थापनाको औचित्य पुष्टि गर्न सक्नुपर्ने धारणा राख्नुभयो । घिमिरेले कर्मचारीको वृत्तिविकासलगायतका समस्यालाई सम्बोधन आवश्यक रहेको धारणा राख्नुभयो । 

दिवसका अवसरमा चार कर्मचारी पुरस्कृत हुनुभएको छ । सर्वोत्कृष्ट कर्मचारीमा उपसचिव ओमबहादुर कार्की, उत्कृष्टमा शाखा अधिकृत करनबहादुर भाट हुनुहुन्छ । यस्तै, संसद् सेवा पुरस्कार शङ्कर भण्डारी, बिन्दा भट्टराईलाई प्रदान गरिएको छ । दिवसका अवसरमा आयोजित फुटसल प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।