काठमाडौँ, मङ्सिर २८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका आदिवासी जनजातिको इतिहास र योगदानअनुसार आन्दोलनमा थप तीव्रता दिनुपर्ने बताउनु भएको छ ।
आदिवासी जनजाति आयोगद्वारा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री गुरूङले आदिवासीको अधिकारका लागि आन्दोलन सक्रिय बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अब नयाँ ढङ्गले ‘मुभमेन्ट’ चलाउनु जरूरी छ ।”
आदिवासी जनजातिको आन्दोलन अन्तर्राष्ट्रियकरण गर्नुका साथै सीप र ज्ञानलाई स्थानीयकरण गर्न आवश्यक रहेको बताउँदै मन्त्री गुरूङले भन्नुभयो, “नेपालको आदिवासी आन्दोलन काठमाडौँमा मात्रै सीमित हुनुहुँदैन, किनकि एसियाको सबैभन्दा ठूलो आन्दोलन भनेकै आदिवासी जनजाति आन्दोलन हो ।”
अन्य देशमा आदिवासी जनजाति आन्दोलनले जुन उचाइका साथ सफलता हासिल गरेको छ, त्यसको तुलनामा नेपालको आदिवासी आन्दोलनको क्रियाशीलतामा कमी रहेको मन्त्री गुरूङको धारणा छ । रासस