• ११ पुस २०८१, बिहिबार

गण्डकी प्रदेशसभा सदस्य थापाको सपथ आज

blog

गण्डकी प्रदेश सभामा समानुपातिक तर्फबाट सदस्यमा मनोनीत हुनुभएको स्याङ्जाकी सुनीता थापा

फडिन्द्र अधिकारी
लेखनाथ, मङ्सिर २८ गते ।
गण्डकी प्रदेश सभामा समानुपातिक तर्फबाट सदस्यमा मनोनीत हुनुभएको स्याङ्जाका सुनीता थापाको शपथ शुक्रबार हुँदैछ । प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि रिक्त पदमा बन्दसूचीमा रहेका नामबाट नेपाली कांग्रेसले सिफारिस गरेपछि निर्वाचन आयोगले थापा निर्वाचित भएको पत्र प्रदान गरिसकेको छ ।

गण्डकी प्रदेशसभा सचिवालयमा दिउँसो सपथ समारोह आयोजना गरिने सचिवालयका उपसचिव प्रेम सुवेदीले जानकारी दिनुभयो । सभामुख कृष्णप्रसाद धितालले उहाँलाई सपथ गराउनुहुनेछ । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा आदिवासी/जनजाति महिलामा म्याग्दीकी विमला गौचनको नाम १ नम्बरमा थियो । त्यसपछि पर्वतका रेखा गुरुङ, कास्कीको सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङको नाम थियो ।

४ नम्बरसम्मका उम्मेदवार प्रदेश सभामा निर्वाचित हुँदा पाँचौं नम्बरमा रहनुभएकी सुनीता भने त्यो बेला छुट्नुभएको थियो । श्रवणशक्ति गुमेका कारण अरुले बोलेको थापा सुन्न सक्नुहुन्न तर बोल्न भने सक्नुहुन्छ । स्याङ्जाको चापाकोटकी थापा २०४९ सालमा जन्मिनुभएको हो । उहाँ गण्डकी प्रदेश सभाको सबैभन्दा कान्छी सदस्यसमेत हुनुहुनेछ ।

नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील उहाँ अपाङ्गता भएकाहरुको अधिकारका लागि निरन्तर क्रियाशील हुनुहुन्छ । उहाँले स्नातकसम्म अध्ययन गर्नुभएको छ ।