जलवायु परिवर्तन हाम्रो समयको सबैभन्दा महत्वपूर्ण विश्वव्यापी चुनौतीमध्ये एक हो । बढ्दो तापक्रम, चरम मौसमी घटना र परिवर्तनशील पारिस्थितिक प्रणालीले सबैलाई असर गरिरहेको छ । नेपाल पनि जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्रमध्येमा पर्छ । एसियाली विकास बैङ्कको एक अध्ययन अनुसार नेपालले सन् २०५० सम्ममा जलवायु परिवर्तनका कारण वार्षिक जिडिपीको २.२ प्रतिशत गुमाउने अवस्था छ । वार्षिक वर्षा हुने परिपाटी वर्षैपिच्छे परिवर्तन हुँदै गइरहेको छ । अतिवृष्टि, अनावृष्टि वा खण्डवृष्टिको समस्या दिनानुदिन बढ्दै गइरहेको छ ।
नेपालको अन्तरिम संविधानले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका समुदायका रूपमा गरिब, महिला, दलित, आदिवासी जनजाति, मधेशी अन्य सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, भौगोलिक विकटतामा बसोबास गर्ने व्यक्ति, यौनिक अल्पसङ्ख्यक र नागरिकताविहीन व्यक्तिलाई परिभाषित गरेको छ । जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न आवश्यक स्रोतसाधन एवं क्षमताको अभावका कारण यी समुदाय/वर्ग जलवायु परिवर्तनबाट थप सङ्कटासन्न अवस्थामा रहेका छन् । यसका असर सर्वत्र अनुभव गरिए पनि यस्ता प्रभावको असरबाट भने निश्चित समुदाय वा वर्ग तुलनात्मक रूपमा बढी प्रभावित हुने गरेको तथ्य विश्वव्यापी रूपमा स्वीकार गरिएको छ । यसले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गगता भएका व्यक्ति, श्रमिकलगायतका समूहलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा धेरै प्रभाव पारिरहेको छ । सामान्यतः जलवायु परिवर्तनले पारेका असरमा बाढी, पहिरो, भूक्षय, खडेरी तथा तीव्र हिँउ पग्लनु र कृषि प्रणालीमा ह्रास रहेका छन् । समुदायका विभिन्न उमेर, वर्ग, लिङ्गलगायतका सबैलाई कुनै न कुनै तरिकाले प्रभाव पारिरहेको जलवायु परिवर्तनले विशेष गरी ज्येष्ठ नागरिकमा पारेको प्रभावका बारेमा यहाँ चर्चा गरिएको छ ।
शारीरिक स्वास्थ्य प्रभाव : ज्येष्ठ नागरिक (६० वर्ष वा सोभन्दा माथि ) उमेर समूह विशेष गरी जलवायु परिवर्तनको शारीरिक स्वास्थ्य प्रभावका लागि संवेदनशील समूह हो । तीव्र रूपमा बढ्दै गएको गर्मीले ज्येष्ठ नागरिकलाई ठुलो जोखिम निम्त्याउँदै छ । बढ्दो उमेरका कारण उनीहरूको शरीरमा तापक्रम नियन्त्रण गर्ने क्षमता घट्दै जाँदा उनीहरूलाई गर्मीसम्बन्धी रोग जस्तै गर्मी स्ट्रोक र निर्जलीकरण हुने सम्भावना बढी हुन्छ । थप रूपमा, चरम मौसमी घटना जस्तै आँधीबेरी, बाढी पहिरो र जङ्गली आगलागीले अन्य उमेरकालाई भन्दा ज्येष्ठ नागरिकलाई उच्च रूपमा असर गर्छ । गतिशीलताको चुनौती, दीर्घकालीन स्वास्थ्य समस्या तथा आपत्कालीन सेवामा हुने सीमित पहुँचले उनीहरूलाई सङ्कटको समयमा बाहिर निस्कन वा चिकित्सा सहायता खोज्न सक्ने क्षमतामा बाधा पु¥याउन सक्छ ।
मानसिक स्वास्थ्य समस्या : ज्येष्ठ नागरिकमा जलवायु परिवर्तनको मनोवैज्ञानिक प्रभाव चिन्ताको विषय हो । प्राकृतिक प्रकोप र चरम मौसमी घटनाले आघात, चिन्ता र उदासीनता निम्त्याउन सक्छ । घर, सम्पत्ति, वस्तुभाउ वा प्रियजन गुमाउने ज्येष्ठ नागरिकले लामो समयसम्म शोक र तनाव अनुभव गर्न सक्छन् । यसबाहेक, जलवायु परिवर्तनको अनिश्चितता र यसको नियन्त्रणमा कमीले पनि यो जनसाङ्ख्यिकीय समूहमा असहायता र एक्लोपनको भावना बढाउन सक्ने कुरा थुप्रै अध्ययनले देखाएका छन् ।
सामाजिक मेलमिलापमा समस्या : जलवायु परिवर्तनले गर्दा ज्येष्ठ नागरिकलाई सामाजिक मेलमिलाप वा सामाजिक सञ्चारका लागि उचित वातावरण रहँदैन । उदाहरणका लागि, अत्यधिक गर्मी वा चिसोले गर्दा ज्येष्ठ नागरिकलाई घरभित्रै बस्न बाध्य तुल्याउन सक्छ । बाढी पहिरोलगायतका प्रकोपले बाटोघाटो बिगारिदिँदा एक ठाउँबाट अन्यत्र जान कठिन हुन्छ । यसले पनि उनीहरूलाई सामाजिक अन्तर्क्रिया, मेलमिलाप र सञ्चार जस्ता सेवाबाट टाढा राख्छ । जलवायु परिवर्तनकै कारण छिमेकी, साथीभाइ, इष्टमित्रले बसाइँसराइ गर्दा पनि यो समूहको सामाजिक मेलमिलापमा र सञ्चारमा समस्या उत्पन्न हुने गरेको छ ।
आर्थिक तथा बसोबाससम्बन्धी समस्या : जलवायु परिवर्तनले ज्येष्ठ नागरिकका लागि आर्थिक चुनौती पनि बढाएको छ । धेरै ज्येष्ठ नागरिक निश्चित आम्दानीमा बाँचिरहेका हुन्छन् । अन्य उमेरको तुलनामा उनीहरूको औषधी उपचारमा लागत बढी लागिरहेको हुन्छ । त्यसमाथि पनि जलवायु परिवर्तनले निम्त्याएको प्राकृतिक प्रकोपका कारण भौतिक सम्पत्तिको क्षति, घरजग्गाको लालपुर्जा, नागरिकतालगायतका अन्य कानुनी दस्ताबेज बगाउने, भिज्ने, वा हराउने जस्ता समस्याले गर्दा अन्य झैझमेला र आर्थिक अभावको सामना गर्नुपर्ने बाध्यता रहन्छ । एक ठाउँबाट अन्यत्र स्थानान्तरण हुनुपर्दा खर्चिलो हुने र नयाँ स्थानमा बसोबास गर्दा समायोजनको समस्या पनि उप्पन्न हुन सक्छ । बाढी पहिरोलगायतका प्रकोपमा परेर घर गुमेका ज्येष्ठ नागरिकका लागि जाडो महिना असाध्यै कष्टकर हुने देखिन्छ । न्यून आय भएका समुदायका ज्येष्ठ नागरिक विशेष गरी जोखिममा छन् किनकि उनीहरूसँग जलवायु उत्थानशील आवासमा लगानी गर्ने वित्तीय स्रोतको अभाव छ ।
कृषि तथा स्थानीय उत्पादनमा समस्या : जलवायु परिवर्तनले कृषि र स्थानीय उत्पादनलाई विभिन्न तरिकामा असर गरिरहेको छ । जसले ज्येष्ठ नागरिकलाई प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । समयमा पानी नपर्दा अथवा बेमौसमी वर्षाका कारण बाली लगाउने र उत्पादन मा प्रभाव परिरहेको । धेरै रासायनिक मल तथा किटनाशक औषधीको प्रयोगले परम्परागत बिउ तथा बाली लोप हुँदै गएका छन् । परम्परागत खेतीको अनुभब भएका र स्थानीय उत्पादन मात्र प्रयोग गर्दै आएका ज्येष्ठ नागरिकको जीवनशैलीलाई यस्तो प्रभावले धेरै असर पारिरहेको छ । अत्यधिक वर्षाले माटोको क्षरण र पोषक तत्वमा हानि निम्त्याउन सक्छ, भने लामो समयसम्मको सुक्खाले माटोको क्षय निम्त्याउन सक्छ । बढ्दो तापक्रमले माटोमा रहेको उब्जाउ क्षमतालाई परिवर्तन गर्न सक्छ । जसको कारण कृषि पेसामा निर्भर रहेका ज्येष्ठ नागरिकको खाद्य सुरक्षा र पोषणमा समेत असर पर्न सक्छ ।
ज्येष्ठ नागरिकमा जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न लक्षित नीति र सामुदायिक पहल आवश्यक पर्छ । जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन, कार्यशाला, सेमिनार तथा कार्यक्रम प्रसस्तै मात्रामा हुने गरेका छन् । यही विषयमा काम गर्न सरकारी तह सङ्घ संस्थादेखि अन्तर्राष्ट्रिय स्तरका सङ्घ संस्थाले काम गरिरहेका छन् । यो विषयसँग सम्बन्धित विभिन्न नीति, कार्ययोजना तथा ऐन पनि बनाइएको छ तर यस्ता सङ्घ संस्थाका कार्यक्रम तथा नीति, रणनीतिक कार्ययोजना तथा ऐन बाट यसको चरम जोखिम बेहोरिरहेका खास समुदाय वा वर्गका व्यक्तिले अलिकति पनि लाभको अनुभव गर्न सकेका छैनन् । त्यसमाथि पनि यति धेरै प्रभाव खेपिरहेको ज्येष्ठ नागरिक लक्षित नीति तथा कार्यक्रम कतै फेला पार्न सकिँदैन ।
आपत्कालीन प्रतिक्रियात्मक योजना बनाउँदा ज्येष्ठ नागरिकले सामना गरिरहेको गतिशीलता र शारीरिक, मानसिक स्वास्थ्य चुनौतीलाई विचार गर्नु पर्छ । समुदायमा आधारित कार्यक्रमले ज्येष्ठ नागरिकलाई सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसबाहेक, ज्येष्ठ नागरिकलाई जलवायु जोखिम र तयारी उपायका बारेमा शिक्षित गर्न सके उनीहरूले आफूलाई सुरक्षित राख्ने सक्रिय कदम चाल्न सशक्त बनाउन सक्छन् । साथै जलवायु परिवर्तनका लागि काम गर्न बनाइने हरेक कार्यक्रममा निति तथा ऐनमा ज्येष्ठ नागरिकका कुरा उल्लेख गर्नु पर्छ । हरेक उपभोक्ता समूहमा ज्येष्ठ नागरिकको उपस्थिति अनिवार्य गराउँन सकेमा उनीहरूको ज्ञान र सिपको उपयोग गर्न सहज हुन्छ । सामुदायिक वन संरक्षणमा पनि ज्येष्ठ नागरिकले अमूल्य योगदान दिन सक्छन् । स्थानीय तथा रैथाने बाली संरक्षणमा पनि ज्येष्ठ नागरिकको सहभागिता अर्थपूर्ण रहन्छ । यस्ता काममा उनीहरूलाई लगाउँदा निष्क्रिय अवस्थामा रहेको जनशक्तिको परिचालन हुन्छ ।
जलवायु परिवर्तन एक बहुआयामिक समस्या हो, जसले व्यापक समाधानको माग गर्छ । ज्येष्ठ नागरिकका लागि बदलिँदो मौसमले निम्त्याएका शारीरिक, मानसिक र आर्थिक चुनौती अति नै महत्वपूर्ण छन् । जलवायु नीतिहरूमा ज्येष्ठ नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नु नितान्त आवश्यक छ । यो विश्वव्यापी समस्याको रूपमा रहेको मुद्दालाई सम्बोधन गर्ने प्रयासमा ज्येष्ठ नागरिकले पनि यसको जोखिम कम गर्न अमूल्य योगदान दिन सक्ने छन् भन्ने विषयमा पनि सुनिश्चित गर्न सकिन्छ ।