• ४ फागुन २०८२, सोमबार

विगतमा झण्डै नौ प्रतिशत मत बदर, यसपटक घटाउने तयारी

blog

वडास्तरमा मतदाता शिक्षाका लागि तालिमप्राप्त स्वयंसेवकहरू । तस्बिरः शङ्कर केसी

शङ्कर केसी

शारदा (सल्यान), फागुन ४ गते । सल्यानमा गत प्रतिनिधि सभा निर्वाचनमा उच्च बदर मत देखिएपछि यसलाई घटाउन जिल्ला निर्वाचन कार्यालय सल्यानले लक्षित कार्यक्रम अघि बढाएको जनाएको छ । 

प्रतिनिधि सभा निर्वाचन २०७९ मा सल्यानमा जम्मा एक लाख ५७ हजार ७०१ मतदाता रहेका थिए । तीमध्ये प्रत्यक्ष तर्फ ८३ हजार ७०४ मत खसेको थियो ।

खसेको मतमध्ये ७६ हजार ३२८ मत सदर हुँदा सात हजार ३७६ मत बदर भएको थियो । विगतमा कुल खसेको मतको ८.८१ प्रतिशत मत बदर भएकाले यो अवस्थालाई घटाउनका लागि वडा वडामा मतदाता शिक्षा कार्यक्रम चलिरहेको जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले जानकारी दिनुभयो । 

गाउँ गाउँमा मतदाता शिक्षा अभियानमा मत हाल्ने तरिका, मतपत्रमा चिन्ह लगाउने विधि र सामान्य गल्तीबारे सचेतना फैलाइँदै आएको छ ।जिल्लामा वास्तविक मतपत्र जस्तै नमुना मतपत्र प्रयोग गरी अभ्यास गराउने कार्यक्रम पनि तय भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै गत निर्वाचनमा समानुपातिक तर्फ ८४ हजार ७८९ मत खसेकोमा ७८ हजार ५७४ मत सदर भएको थियो भने छ हजार २१५ अर्थात ७।३३ प्रतिशत मत बदर भएको कार्यालयले जनाएको छ । 

यस्तै प्रदेशसभा निर्वाचन २०७९ मा पनि प्रदेशसभा (क) को प्रत्यक्षमा ५.७० र प्रदेशसभा (ख) को प्रत्यक्षमा ४।७४ प्रतिशत मद बदर भएको थियो । प्रदेशसभाको समानुपातिकमा पनि ७.५१ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

सल्यानमा कुल मतदाता एक लाख ६२ हजार ४४९ जना रहेका छन् । जसमध्ये महिला मतादाता ७९ हजार १२८ र पुरुष मतदाता ८३ हजार ३२१ जना रहेका छन् ।