• १३ वैशाख २०८१, बिहिबार

यो महिना हिमालबाट ४८ करोड राजस्व सङ्कलन

blog

काठमाडौं, जेठ ६ गते । हिमाल आरोहणका लागि अनुमति प्रदान गरेवापत पर्यटन विभागले यस महिना ४८ करोड एक लाख १९ हजार ५०१ रुपियाँ राजस्व सङ्कलन गरेको छ । विभागले २७ वटा हिमाल आरोहणका लागि १२३ आरोहणदलबाट उक्त राजस्व सङ्कलन गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

कोरोना भाइरस (कोभिड–१९) महामारी पछि यस वर्ष पदयात्रा र पर्वतारोहण क्षेत्रमा चहलपहल सुरु भएको छ । अध्यागमन विभागको तथ्याङ्कअनुसार पर्यटकको आगमनलाई हेर्दा पर्यटन क्षेत्र पुरानै लयमा फर्कन सुरु गरेको नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले जानकारी दिनुभयो । 

विभागले यस महिना ७५८ पुरुष र २१० महिला गरी ९६८ आरोहीलाई २७ हिमाल  आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै सगरमाथाबाट ३९ करोड ९५ लाख ६२ हजार ३५० रुपिँया राजस्व संकलन भएको छ भने ल्होत्सेबाट दुई करोड ८४ लाख २९ हजार ७२२ रुपिँया, कञ्चनजङ्घाबाट एक करोड ३० लाख ८४ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको छ ।

यी आरोहीहरु विश्वभरका ७४ वटा देसबाट नेपालका हिमाल आरोहणका लागि आएको विभागको तथ्याङ्क छ । सगरमाथा आरोहणका लागि मात्र ५८ वटा देशबाट ३१९ जना आरोहीले अनुमति लिएका छन् । 

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।