• २० असोज २०८१, आइतबार

दुर्गम जिल्लामा अठासी हजार क्विन्टल चामल ढुवानी

blog

 काठमाडौँ, जेठ ६ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुर्गम जिल्लामा ८८ हजार क्विन्टल चामल ढुवानी गरेको छ । चालू आर्थिक वर्ष एक लाख ८० हजार क्विन्टल चामल ढुवानी गर्ने कोटा निर्धारण गरेकामा चैत महिनासम्म ८८ हजार ९३२ क्विन्टल चामल ढुवानी भइसकेको हो । सरकारले यो वर्ष दुर्गमका २४ जिल्लामा खाद्यान्न ढुवानी गर्न ४८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्न अनुदानको व्यवस्था छ ।

कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले दुर्गम जिल्लामा नियमित रूपमा खाद्यान्न ढुवानी गरिरहेको जानकारी दिनुभयो । कोटा निर्धारण गरिएकोभन्दा थप माग आएका जिल्लामा समेत खाद्यान्न ढुवानी गरिएको उहाँले जानकारी दिनुभयो ।

कम्पनीका अनुसार जाजरकोटमा १९ हजार पाँच सय क्विन्टल कोटा निर्धारण गरिएकामा हालसम्ममा छ हजार १०१ क्विन्टल चामल ढुवानी भएको छ । दैलेखमा पाँच हजार पाँच सय क्विन्टल चामलको कोटा निर्धारण गरिएकामा एक हजार १३० क्विन्टल चामल ढुवानी भएको छ । 

जुम्लामा १० हजार पाँच सय क्विन्टल चामलको कोटा निर्धारण गरिएकामा छ हजार ४७६ क्विन्टल, कालीकोटमा एक हजार क्विन्टलको कोटामा ४५० क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ । दार्चुलामा कोटाको नौ हजार पाँच सय क्विन्टलमध्ये तीन हजार २८४ र बैतडीमा चार हजार पाँच सय क्विन्टल कोटामध्ये एक हजार ८२६ क्विन्टल चामल ढुवानी भएको छ । 

यसैगरी सोलुखुम्बुको चार हजार क्विन्टलमध्ये दुई हजार २९० क्विन्टल, ओखलढुङ्गाको एक हजार पाँच सय क्विन्टलमध्ये ३४० क्विन्टल, खोटाङको तीन हजार क्विन्टलमध्ये ४७५ क्विन्टल, मनाङको तीन हजार क्विन्टलमध्ये ४७५ क्विन्टल, मुस्ताङको दुई हजार क्विन्टलमध्ये एक हजार ४९७ क्विन्टल र गोरखाको नौ हजार पाँच सय क्विन्टलमध्ये पाँच हजार ९१५ क्विन्टल चामल ढुवानी भइसकेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार रुकुम पूर्वको तीन हजार क्विन्टलमध्ये एक हजार ३१६ क्विन्टल, रुकुम पश्चिमको तीन हजार क्विन्टलमध्ये ४९१ क्विन्टल र रोल्पाको एक हजार क्विन्टलमध्ये ५१० क्विन्टल चामल ढुवानी भएको छ । सुर्खेतमा ३५ हजार क्विन्टलको कोटा निर्धारण गरेकामा १८ हजार ३०७ क्विन्टल ढुवानी भएको छ । दुर्गम जिल्लाका जनतालाई सुपथ मूल्यमा खाद्यान्न वितरण गर्न सरकारले ढुवानीमा अनुदानको व्यवस्था गरेको छ । कम्पनीले दुर्गमसँगै सुगम जिल्लामा खाद्यान्न बिक्री गर्दै आएको छ । 

कम्पनीले सुगम जिल्लामा चैत महिनासम्म ५९ हजार ३०८ क्विन्टल चामल बिक्री गरेको छ । प्रत्येक वर्ष धान खरिद गरी कुटाएर चामल बिक्री गर्ने गरेकामा यो वर्ष धान नपाएपछि चामल नै खरिद गरेर बिक्री गरिएको कम्पनीका नायब महाप्रबन्धक खनालले जानकारी दिनुभयो । 

यो वर्ष एक लाख ६२ हजार पाँच सय क्विन्टल चामल खरिद गर्ने लक्ष्य रहेकामा एक लाख ५७ हजार पाँच सय क्विन्टल चामल खरिद गरेको कम्पनीले जनाएको छ । कम्पनीले प्रतिक्विन्टल तीन हजार ७५० रुपियाँदेखि पाँच हजार ९९० रुपियाँमा सोना मन्सुली, स्टिम जिरा मसिनो, अरुवा मोटा चामल, मध्यसिल्की चामल र कालामुनिया चामल खरिद गरेको छ । 

ठाउँअनुसार फरकफरक मूल्यमा चामल खरिद गरिएको छ । कम्पनीले चामल, दाल, तेल, गेडागुडीलगायतका खाद्यान्न वितरण गर्दै आएको छ । उपभोक्तालाई राहत दिन बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्ने गरेको कम्पनीले जनाएको छ । 

Author

लक्ष्मी सापकोटा