• ३ माघ २०८१, बिहिबार

घर घरमा धारा पुगेपछि आए सुखका दिन

blog

सर्लाही समाचारदाता

सर्लाही, मङ्सिर २५ गते । सर्लाहीको चुरेभेगस्थित दुर्गम क्षेत्रमा पर्ने बस्तीमा पालिका तथा विभिन्न निकायको सहयोगमा खानेपानी आयोजना सञ्चालन भएपछि अहिले खानेपानीको समस्या केही हदसम्म टरेर गएको छ । 

ईश्वरपुर नगरपालिका–१२, गुइडुङ गाउँमा खानेपानी सुविधा पुगेपछि स्थानीय गत वर्षदेखि नै दङ्ग छन् । गाउँमा बस्ती बस्दादेखि खोला तथा कुवाको दूषित पानी पिउँदै आएका गुइडुङवासी घर घरमै खानेपानीको धारा झरेपछि खानेपानीको दुःख टरेकोमा खुसी देखिन्छन् । 

स्थानीय राम्रीमाया थिङ खानेपानीका लागि हुने दुःख, पीडा र हैरानी टरेकोमा खुसी देखिनुहुन्छ । थिङले भन्नुभयो, “खोला र  कुवाको धमिलो पानी ल्याएर खानुपथ्र्यो, अहिले त आँगनमा नै पानीको धारा झरेको छ । अब गाडी आउने बाटो आइदिए हामी अझ धेरै खुसी हुन्थ्यौँ ।”

हिउँदका केही महिना कुवासमेत सुक्दा विगतमा स्थानीयमा खानेपानीको ठुलो समस्या पथ्र्यो । युवकयुवती मात्र होइन, पानीका लागि साना बालबालिकाले समेत दुई÷तीन घण्टा धाएर खोला तथा कुवाको पानी ल्याएर खाएको अनुभव छ । 

कुवामा पानी कम हुँदा पालो लगाएर समेत पानी पिएको स्थानीयवासी एवं खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर थिङको अनुुभव छ । थिङले भन्नुभयो, “पालो लगाएर एक घरलाई दुई गाग्रो पानी बाँडेर खान्थ्यौँ, वस्तुभाउले पनि त्यही कुवामा गएर पानी खान्थे । एक वर्षदेखि त्यस्तो समस्या भोग्नु परेको छैन ।”

यहाँका ६० भन्दा बढी घरधुरीमा गुइडुङमा खानेपानी पु-याउन एक करोड ९८ लाख रुपियाँ खर्च गरिएको छ । घर घरमै खानेपानीको धारा झर्दा लालबन्दी नगरपालिका–१६, तीनघरेका स्थानीय पनि खुसी देखिन्छन् । लालबन्दी नगरपालिका–१६ का वडाध्यक्ष गणेशबहादुर थापाले सधैँ खानेपानीको समस्या रहने तीनघरेमा अहिले पानीको राम्रो सुविधा रहेको बताउनुुभयो । शुद्ध खानेपानी पिउन पाउँदा स्थानीय हर्षित रहेका वडाध्यक्ष थापाको भनाइ छ । 

सर्लाहीमा चुरेभेगका एक दर्जनभन्दा बढी विकट बस्तीमा खानेपानीको समस्या छ । मधेश प्रदेश सरकारको निवर्तमान खानेपानी मन्त्री एवं सर्लाही क्षेत्र नं. १ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य बेची लुङ्गेलीले दातृ निकायसँग यसै गरी समन्वय गरी प्रत्येक चुरेका विकट बस्तीमा खानेपानी पु-याउन अति आवश्यक रहेको बताउनुभयो । आफू निर्वाचन क्षेत्रमा पुग्दा चुरेको विकट गाउँका स्थानीयले सबैभन्दा धेरै खानेपानीकै अभावबाट पीडा पोख्ने गरेको उहाँले जानकारी दिनुभयो ।