दोलखा समाचारदाता
दोलखा, मङ्सिर २५ गते । दोलखामा कुनै बेला गाउँका हुनेखानेले मात्र सोखले बनाएका झिँगटीको छाना भएका घर लोप हुँदै गएका छन् । नयाँ प्रविधिसँगै आएका जस्तापाताले काम गर्दै गरेका बेला २०७२ सालको भूकम्पबाट क्षति पुगेपछि अहिले झिँगटीका छानो भएका घर विस्थापित हुनेक्रम तीव्र बनेको हो ।
करिब ७५ वर्षयता यस्ता घर बनेका रहेछन् । स्थानीय देवीप्रसाद पोखरेलका अनुसार तामाकोशी गाउँपालिका–३, जफेका पोखरेल परिवारमा दुई र काफ्ले परिवारमा पाँच वटा यस्ता घर थिए । भूकम्पपछि तिनको नामोनिसान छैन ।
वडा नम्बर २ मा कार्की परिवारमा तीन र वडा नम्बर ४ मा कार्की र पोखरेल परिवारमा तीन वटा भिँगटीको छाना भएका घर थिए । अहिले तिनको सट्टा सबै पक्की घर बनेका छन् ।
मेलुङ गाउँपालिकामा पनि केही यस्ता घर थिए । स्थानीय विश्वास भण्डारी भन्नुहुन्छ, “राणाशासनको अन्त्य र प्रजातन्त्रको उदयपछि जनताका छोराछोरीले पनि चारतले घर बनाउन पाउने अवस्था बनेको रहेछ । त्यसपछि हाम्रा हजुरबुवा स्वर्गीय रामप्रसाद भण्डारीले २००७ सालबाट सुरु गरी २०११ सालमा यो घर निर्माण सम्पन्न गर्नुभएको रहेछ ।”
उहाँले भन्नुभयो, “काठलाई आराले चिर्ने काम हाम्रो गाउँमा हाम्रो घरबाटै सुरु भएको रहेछ । भारतबाट आरावाला ल्याइएको रहेछ । २०११ सालमा मेरा बुवा जन्मनुभएको वर्ष भक्तपुरबाट झिँगटी बनाउने मानिस ल्याई गाउँमै माटो पोलेर झिँगटी बनाई छानो हालेको कुरा स्वर्गीय हजुरमुमा डन्डकुमारी भण्डारीले हामीलाई बताउनुहुन्थ्यो ।”
उक्त घरमा उहाँका ठुलो बुवाहरू बस्नुहुन्थ्यो । घर पुरानो भएपछि २०६८ सालमा पुनर्निर्माण गरिएको र हाल ठुलोबुवाहरू बसोबास गरिरहेको उहाँको भनाइ छ । अर्को उस्तै झिँगटी घर कोलचौरमा बनेकोमा २०७२ सालको भूकम्पले ध्वस्त भएको बताउनुभयो ।
उहाँहरू बसिरहेको झिँगटी घर २०४५ सालको भूकम्पमा केही नभए पनि २०७२ सालको भूकम्पले भने असर ग¥यो । झिँगटीको छाना लगाएको घर अब इतिहासमा मात्र सीमित बनेको उहाँले जानकारी दिनुभयो ।