• ९ वैशाख २०८२, मङ्गलबार

पन्ध्र प्रतिशत जनता करमा दर्ता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २४ गते । मुलुकको कुल जनसङ्ख्याको १५ प्रतिशत कर प्रयोजनका दर्ता भएको पाइएको छ । 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार त्यस्तो प्रयोजनका लागि स्थायी लेखा नम्बर लिने व्यक्तिगत करदाताको सङ्ख्या ४४ लाख १० हजार ४४६ पुगेको हो । जुन कुल जनसङ्ख्याको १५.१२ प्रतिशत हुन आउँछ । 

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकसम्मको उक्त विवरण अनुसार साउनदेखि असोजसम्मको अवधिमा एक लाख ६१ हजार ७१४ जना व्यक्तिगत करदाता थपिएका छन् । थपिएको उक्त सङ्ख्यासँगै व्यक्तिगत करदाताको सङ्ख्या ४४ लाख नाघेको हो ।

समीक्षा अवधिमा २९ हजार ३४४ ले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । यससँगै व्यावसायिक स्थायी लेखा नम्बर लिनेको कुल सङ्ख्या १९ लाख ७३ हजार ४४५ पुगेको छ । 

कर कट्टी गर्ने निकायले लिने स्थायी लेखा नम्बरको सङ्ख्या ३४ हजार ६५ पुगेको छ । यसबिचमा केवल ७३७ वटा त्यस्ता संस्थाले यस किसिमको स्थायी लेखा नम्बर लिएका छन् । 

उद्योग, व्यवसाय, पेसा, रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोबार, जारी गर्ने बिलबीजकसहित करसम्बन्धी सम्पूर्ण विवरणमा स्थायी लेखा नम्बर अनिवार्य गरिएकाले यसमा सहभागी हुनेको सङ्ख्या बढ्दो छ । 

सरकारले आव २०७६/७७ मा एक व्यक्ति एक स्थायी नम्बरको अवधारणा अघि सार्दै प्रत्येक कारोबारका लागि यस्तो व्यवस्था अनिवार्य गरेपछि दर्ता हुनेको सङ्ख्या त्यसयता निरन्तर बढिरहेको मन्त्रालयकै विवरणले देखाउँछ ।  यसबाहेक तीन महिनाको अवधिमा छ हजार ४६३ वटा फर्म मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् । 

थपिएको उक्त सङ्ख्या मुअकरमा दर्ता हुनेको कुल सङ्ख्या तीन लाख ३३ हजार ८८० पुगेको अर्थ मन्त्रालयले जनाएको छ । 

अन्तःशुल्कमा दर्ता हुनेको सङ्ख्या अहिलेसम्म एक लाख २० हजार ६५५ पुगेको छ । समीक्षा अवधिमा तीन लाख २८७ वटा फर्म अन्तःशुल्कमा दर्ता भएका छन् ।