• २० मंसिर २०८१, बिहिबार

एक महिनाका लागि पूर्वराजा नेपालगन्जमा

blog

नेपालगञ्जमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गरिदैं । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, मङ्सिर १९ गते । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित केही दिनदेखि नेपालगन्जमा रहनुभएको छ । सोमबार राति नेपालगन्ज पुग्नुभएका पूर्व राजा ज्ञानेन्द्रसहित पूर्व राजपरिवारका सदस्यहरू करिब एक महिनासम्म यहाँ बस्नुहुने राप्रपा नेपालका सह–महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो ।

पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल शाह, छोरी प्रेरणा शाह र भतिजी सिताष्मा शाह, भाइ स्व. धीरेन्द्र शाहकी छोरीसहित पश्चिम नेपालको भ्रमणका लागि नेपालगन्ज आउनुभएको हो । 

नेपालगन्जमा मुकाम बनाएर करिब एक महिना पूर्वराजा शाहले धार्मिक भ्रमण गर्नुहुने भएको छ । मङ्सिर २५ गते बर्दिया जाने कार्यक्रम रहेको छ । यसै गरी नेपालगन्जमा पनि बागेश्वरी मन्दिरको दर्शन तथा अन्य धार्मिकस्थल जाने कार्यक्रम रहेको  राप्रपा नेपालका सह–महामन्त्री देवकोटाले जानकारी दिनुभयो ।

देवकोटाले भन्नुभयो, ‘यो भ्रमण राजपरिवारको नितान्त धार्मिक, पारिवारिक र व्यक्तिगत हो, यसबिचमा केही धार्मिक यात्रा र सामान्य भेटघाटका कार्यक्रम मात्र हुनेछन् । होटल सोल्टीमा पूर्वराजाले समर्थकहरूसँग भेटघाट गरिरहनुभएको छ ।