“हजुरआमा !” दोर्जे चिच्यायो ।
“के भयो दोर्जे ? किन यसरी बोलाएको ?”
“हजुरआमा ... मैले भर्खंरै यता भूत देखेको नि ! कस्तो कालो कालो रैछ । माथि माथि उडेर गएको जस्तो देखेको,” दोर्जेले डराउँदै भन्यो ।
हजुरआमाले मुस्कुराउँदै भन्नुभयो, “दोर्जे ! तिमीलाई थाहा छैन ? हाम्रो गाउँमा त कहिले पनि भूत आउँदैन नि !”
“झुटो कुरा नबोल्नु न हजुरआमा, मैले भर्खरै देखेको,” दोर्जेले अलि जिज्ञासु हुँदै भन्यो ।
“ल, सुन्छौ त भूत भागेको कथा ?”
“सुन्छु, सुन्छु” भन्दै दोर्जे हजुरआमाको काखमा बस्न जान्छ ।
धेरै धेरै वर्षअगाडिको कुरा हो । मुक्पाटार भन्ने गाउँमा एक जना असल अनि चलाख बाजे बस्नुहुन्थ्यो । त्यसबेला गाउँमा मान्छेहरू भूत सँगसँगै बस्ने गर्दथे ।
“अनि हजुरआमा भूतले मान्छेलाई केही गर्दैन त ?” दोर्जेले बिचमै हजुरआमालाई प्रश्न ग¥यो ।
“अँ, त्यसबेला भूतहरू मान्छेसँग मिलेर बस्थ्यो, केही पनि गर्दैनथ्यो । ल, अब चाहिँ चुप लागेर सुन है दोर्जे ।”
बाजेले गाई, भैँसी, बाख्रा पाल्नुभएको थियो । बाजे एकदमै मेहनती हुनुहुन्थ्यो ।
एकदिन दुध दुहेर दुधलाई तताई बाजे आफ्नो आँगनमा बसेर मोही बनाउन लाग्नुभएको थियो । त्यति नै बेला एक जना भूत बाजेको अगाडि आएर बस्यो ।
बाजे आफ्नो काम गर्नतिर व्यस्त हुनुहुन्थ्यो । बाजेले पहिले ठेकी आफ्नो दुवै हातले तान्नुहुन्थ्यो घर् ... घर् ... घर् ... बाजेले जस्तै गरी भूतले पनि आफ्नो हात त्यसरी नै चलाउँथ्यो ।
त्यो देखेर बाजे हाँस्नुहुन्थ्यो र फेरि आफ्नै कामतिर लाग्नुहुन्थ्यो । भगवान्का लागि भनेर बाजेले घिउ आगोमा छर्किनुहुन्थ्यो । कस्तो अचम्म !
भूतले पनि बाजेले गर्नुभएको जस्तो नाटक गर्न थाल्यो ।
के हो । भूतले त मैले जे गरेको त्यही त्यही पो गर्छ त !
भोलिपल्ट पनि भूत बाजेको घरमा आयो । अनि बाजेको पछि पछि लाग्न थाल्यो । यसपालि चाहिँ बाजेले ठेकी चिल्लो होस् भनेर ठेकीमाथि घिउ दल्नुभयो । ल ! भूतले पनि त्यस्तै गर्न थाल्यो । भूतले बाजेलाई जिस्काइरह््यो । बाजेले के गर्नुभयो, भूतले पनि दुरुस्तै त्यही त्यही गर्न थाल्यो ।
बाजेले गाईलाई घाँस दिनुहुन्थ्यो ।
भूतले पनि जिस्की जिस्की गाईलाई घाँस दिन्थ्यो ।
बाजेले दाउरा काट्नुहुन्थ्यो ।
भूतले त झन् नाची नाची पो दाउरा काट्न थाल्यो ।
सुरु सुरुमा त बाजेलाई रमाइलो लागेको थियो तर पछि भने बाजेलाई रिस उठ्न र भूतबाट कसरी छुट्कारा पाइन्छ भन्ने कुरा सोच्नुभयो । बाजेको दिमागमा एउटा जुक्ति आयो ।
बिहानै बाजे सल्लाको खोटो खोज्न तल जङ्गलतिर जानुभयो । सल्लाको खोटा ल्याउनुभयो, त्यसलाई उमाल्नुभयो । अनि मनमनै भन्नुभयो, “मैले जे जे गर्छु, त्यही त्यही गर है त ! अब, आउँछ मजा !
त्यसपछि पनि भूत बाजेको आँगनमा आयो । बाजेले पहिले नै सबै कुरा मिलाइसक्नुभएको थियो ।
बाजेले दुई वटा भाँडा राख्नुभएको थियो । एउटामा चाहिँ घिउ अनि अर्कोमा चाहिँ सल्लाको खोटा । बाजेले आफ्नो अगाडि चाहिँ घिउको भाँडा अनि भूतको अगाडि चाहिँ त्यस सल्लाको खोटा राखेको भाँडा राख्नुभयो ।
बाजेले अलि अलि घिउ लिएर पहिले आफ्नो हाततिर दल्न थाल्नुभयो । भूतले पनि बाजेले जस्तै गरी आफ्नो हातमा सल्लाको खोटा दल्न थाल्यो । भूतले आफ्नो हातमा मात्र हैन, खुट्टा, अनुहारतिर पनि जिस्किँदै दल्न थाल्यो ।
बाजे भने मनमनै हाँसिराख्नुभयो ।
त्यसपछि बाजेले आफ्नो हात आगोमाथि तर अलि आगोले नछुने गरी राख्नुभयो । भूत पनि के कम भन्दै अफ्नो पूरै हात आगोमाथि राख्यो ।
एकछिनपछि त्यस भूतको हात जल्न थाल्यो । ऊ आत्तिँदै दौडिन थाल्यो । ए होई, होई ! आगोले पोल्यो ।
ऊ त्यो डाँडाबाट आवाज आयो, “पानीमा चोपलक... पानीमा चोपलक...”
भूत सुनकोशी नदीमा फुत्त हामफाल्न पुग्यो । भूतको चर्तिकला देखेर बाजे हाँसिरहनुभएको थियो ।
“त्यस दिनबाट हाम्रो गाउँमा भूत आउँदैन नि ! त्यसैले डराउनु पर्दैन,” हजुरआमाले मुस्कुराउँदै दोर्जेलाई भन्नुभयो ।
दोर्जे भोलि बिहानै भूत देखेको ठाउँमा गयो ।
“हजुरआमा ?”
“फेरि किन बोलाएको ?”
दोर्जेले हाँस्दै उत्ता देखाएर भन्यो, “ए ! त्यो त गुन्द्रुक राखेको कालो झोला पो रैछ ।”
हजुरआमा र दोर्जे हाँस्न थाल्छन् ।