• १९ मंसिर २०८१, बुधबार

समृद्धिका लागि नागरिक शिक्षा

blog

मानिस आफैँ अजस्र सम्भावनाको पुञ्ज हो । मानव सभ्यता यहाँसम्म आइपुग्न जेजति प्रयास भयो, त्यो सबै मानव सम्भावना उपयोगको परिणाम हो । कसैले उसलाई कुनै कुरा उपहारको रूपमा दिएको छैन र दिने पनि छैन । बरु उसबाट दिइने कुरा थुप्रै छन् । त्यसैले केही भएन भनेर भौतारिनु वा तृष्णा र जिजीविषामा पिरोलिनु आवश्यक छैन । असल सोच, असल बुझाइ र असल कर्मले नै घर, परिवार, समुदाय, मुलुक र विश्व बन्ने हो । 

असल सामाजिक सोच संस्कारबाट सभ्यता र समृद्धिको आधार खडा हुन्छ । सकारात्मक सोच र सत्कर्मले समाज सुसंस्कृत हुन्छ । सकारात्मक मानिसहरू आफ्ना अवगुण देख्छन् तर अरूका अवगुण मात्र देख्दैनन् । क्षमा, विनय र शिष्टताले आफू सुध्रिन्छन् र अरूलाई सुध्रिन प्रोत्साहन गर्छन् । आफूलाई अब्बल देखाउने तर अरूमा कुनै गुण नै नदेख्ने स्वभाव नेपाली समाजमा देखिन थालेको  छ । एकदिनको कुरा हो, एक जना शैक्षिक योग्यता राम्रै हासिल गरेका कर्मचारीले सरकारले आफ्नो क्षमता नचिनेको भन्दै योग्यताको स्वलापन गर्दै थिए । अर्का उच्चप्रशासक आफू मात्र निष्कलङ्क र स्वच्छ भनेर अरूको बद्ख्वाइ गर्दै थिए, मानौँ शब्दकोषमा असल शब्द अरूका लागि थिएनन् । त्यही दिन एक जना राजनीतिकर्मी कर्मचारीका कारण देश बर्बाद भएको अभिव्यक्ति दिँदै थिए तर अर्का ठुला घरानाका व्यापारी सरकारको कर्मचारीतन्त्र र राजनीतिको चरित्रको कारण देशमा लगानी वातावरण नबनेको गुनासो गर्दै थिए । मत अभिमत निर्माणका लागि निष्पक्ष विचार र समाचार सम्प्रेषण गर्ने आमसञ्चारहरूले त्यही दिन मुलुकमा बेथिति बढेको धेरै खबर छाप्न चुकेनन् । सबै खाले विकृति र बेथितिका लागि पहरेदारी गर्ने नागरिक समाज भने आफ्नै आग्रहका कारण रङ, आस्था र विचारमा विभाजित भएर आफूलाई लोकतन्त्रको सच्चापात्र भन्न हौसिएका छन् । यी केही प्रतिनिधि उदाहरण हुन्, जसले असल सामाजिक संस्कृति निर्माणमा बाधा पु¥याइ रहेका छन् । असल सामाजिक संस्कृति निर्माण कुनै कारखानाले वस्तु उत्पादन गरे जसरी भटाभट परिणाम दिने विषय होइन । यो मूल्य संस्कृतिको निर्माण हो, जसलाई लामो समयको प्रयासपछि मात्र पाउन सकिन्छ तर स्थापित मूल्य संस्कृतिलाई भत्काउन भने थोरै समय नै काफी छ । 

विगत केही वर्षदेखिको सामाजिक प्रवृत्ति विश्लेषण गर्ने हो भने हामीकहाँ केही नराम्रा संस्कृति हुर्किंदै गएका छन्, जसले असल नागरिक संस्कृति निर्माणमा बाधा पारिरहेको छ । औपचारिक कानुन र नीति संरचना नभएर होइन, त्यसलाई वरण नगरेर यसो भएको हो । जब गर्भित आसयको हाबी हुन्छ, औपचारिक कानुन र नीतिहरू निरीह बन्दछन्, बेथिति नै प्रणाली बन्छ र राज्यका संरचनाहरू झनै औपचारिक बनिदिन्छन् । जस्तो कि भ्रष्टाचार गर्न हुँदैन भन्ने राज्य इच्छा हो र यसको औपचारिक अभिव्यक्ति विभिन्न कानुन र नीतिहरूले गरेको छ । भ्रष्टाचार गर्नुहुन्न भन्ने सबैलाई थाहा छ । भ्रष्टाचारविरुद्ध लड्ने रणनीति र सुशासनका कार्ययोजना पनि छ तर सार्वजनिक शक्ति र साधन प्रयोग गर्ने पदाधिकारीहरू विषयान्तर प्रवृत्तिमा छन् । जो जसले यस्ता काम गर्छन्, आदर्शको कुरा गर्न उनीहरू नै एक कदम अघि हुन्छन् । पद जिम्मेवारी हो तर अवसर सोच्ने गरिएको छ । घरपरिवार र सामाजिक तहमा आर्थिक, सामाजिक, भावनात्मक र नैतिक बेथितिहरू विस्तार हुँदै छ । हिंसाका भावनात्मक र भौतिक अनौठा स्वरूपहरू देखिएका छन् । साथी सङ्गति तहमा गैरसाथित्वका व्यवहारहरू देखिएका छन् । एक अर्कोप्रति विश्वस्त हुने परिवेश छैन । ठगी, धोका र विश्वासघातले फराकिलो रूप धारण गर्दै छ । बाहिर नआएका र अनुभूतिजन्य थुप्रै घटना छन्, जसले परिवार र सामाजिक संरचनालाई नै विकृत बनाउँदै लगेको छ । यस्ता घटनाहरू दोहोरिइ रहेका छन् । प्रत्येक व्यक्ति प्रत्येकप्रति जवाफदेही बन्नु पर्छ भन्ने सार्वजनिक/सामाजिक जीवनको मान्यता हो । प्रत्येक प्रत्येकप्रति इमानदार बन्नु मानवीय मर्यादा हो । मानव विकास र सामाजिक सभ्यता यस्तै आदर्श मान्यताबाट निर्माण भएका हुन् । व्यवस्थित समाजमा सबै नागरिकको साझा दायित्व हुन्छ : ‘आउने दिन र भोलिको पुस्ताका लागि असल प्रणाली हस्तान्तरण गरेर जाने ।’ यसका लागि असल सोच, असल बुझाइ, असल कार्य र असल व्यवहार चाहिन्छ । यस प्रकारको सामाजिक संस्कृति विकास गर्न कानुन, नीति, सङ्गठन जस्ता संरचनागत पक्ष मात्र सफल देखिँदैनन्, व्यवहार र सोको लागि नैतिक अभिमुखीकरण आवश्यक देखिएको छ । नागरिक शिक्षा त्यसो गर्ने अन्तिम सशक्त बाटो हो । किनकि नीतिनियम र मान्यताहरू सफल नभएपछि सामाजिक अभिमुखीकरण बिना असल काम हुन सक्तैन, नागरिक शिक्षाले नागरिक जीवनका लागि चाहिने शिक्षा, सिप र स्वभाव सिकाउँछ । 

मानिस जटिल प्राणी हो । मनोविज्ञानले उसलाई तत्काल सुख, समृद्धि, शक्ति र सानसौकाततर्फ घचेटिरहेको हुवन्छ । यो घचेटाइनै अपराधको स्रोत पनि हो । उसको सचेत मनले सत्कर्म गर्न निर्दिष्ट गरे पनि सँधै सचेत मन उसभित्र शक्तिशाली हुँदैन र गर्भित तहमा रहेको ‘प्लेजर इनर्सिया’ को जित हुन्छ । अवसर पाउने बित्तिकै व्यक्तिको यो प्रवृत्ति देखिन्छ । अपराध, दुस्कर्म, खराब आचरण यही ‘प्लेजर इनर्सिया’ का परिणाम हुन् । नागरिक शिक्षाले व्यक्तिलाई तत्काल सुख, आनन्द, आवेश, अपराधको प्रवृत्तिबाट अलग्याउने आन्तरिक सामथ्र्य र स्वभाव दिन्छ । त्यसैले औपचारिक कानुन र नीति निरीह भएको समाजमा नागरिक शिक्षा असल सामाजिक व्यवहारका लागि ज्ञान, सिप र स्वभाव दिई असल सामाजिक संस्कृति संस्थागत गर्ने एक मात्र उपाय हो । 

मुलुकमा असल थिति बसाउन राजनीतिले नेतृत्व दिने गर्छ । राजनीति भनेको असल समाज निर्माणका लागि अहोरात्र सामाजिक परिचालन गर्ने काम हो, राजनीतिले गर्ने प्रतिस्पर्धा यसैका लागि हो । असल राजनीतिक संस्कृति नभएमा उसले गरेको कामहरू औपचारिक हुन्छन् । यस अवस्थामा लोकतन्त्र वास्तविक रूपमा जनजीवनसम्म पुग्न सक्तैन । असल राजनीतिक संस्कृतिले राजनीतिलाई स्वस्थ प्रतिस्पर्धा, अन्तरपार्टी पारस्परिक सम्बन्ध स्थापना, संयमता, लोकतान्त्रिक व्यवहार, मूल्य र विचारप्रति आस्था, जनताप्रति निष्ठा राख्न सिकाउँछ । असल राजनीतिक संस्कृतिको लहरे असर समाजका अन्य क्षेत्रमा पर्छ । भनी रहन परोइन, राजनीतिले अपेक्षित नीति नेतृत्व दिन सकेन । राजनीतिक कार्यकर्ताहरू अरूको मात्र गल्ती देख्छन् र दुर्वाच्यको फोहोरा वर्षाउँछन् । एक नेताले वाणीबाट अर्कोलाई हिंसा गरिरहेको हुन्छ । सर्वाधिक जीवन यातनागृहमा बिताएका नेल्सन मण्डेला भन्ने गर्थे, सबै मानिसमा सुभावना हुन्छन्, उसले गलत गर्दैमा कटु प्रतिक्रिया दिनु पर्दैन, उसमा चेतना आउने बित्तिकै ऊ घाम जत्तिकै उज्यालो हुन्छ । अधिकांश समय यातना गृह र निर्वासन बिताएका बिपी कोइरालाले भन्थे, अरूलाई दुर्वाच्य प्रयोग गर्दा उसमा क्रोध बढ्न गइ झनै द्वन्द्वको वातावरण बन्छ । महात्मा गान्धीको संयम, शील र विनयको जति पारख गरे पनि पुग्दैन । इतिहासले उनीहरूलाई राजनैतिक आइकन बनाएको छ । तर चेतना, दर्शन र नीति संरचनाको अकल्पनीय विस्तार भइसक्दा पनि मण्डेला, बिपी र गान्धीको आदर्श अन्यत्र त के उनीहरूकै मुलुकमा राजनीतिक मानक बनेन । 

राजनीतिले नीति, संस्कार र समृद्धिको नेतृत्व दिन सकेन । शक्ति र अधिकार जिम्मेवारी नभई सीमित स्वार्थमा केन्द्रित हुँदै गयो । समृद्धिको सपना धकेलिँदै गएको नेपालमा विकासका लागि राजनीति –विकासमा राजनीति होइन) संस्कार बसेको देख्ने नेपालीको साझा चाहना हो । राजनीतिले असल समाज निर्माणका लागि विवेक र कठोरपूर्ण कदम चाल्न सक्नु पर्छ । किनकी राजनीति अवसर होइन, जिम्मेवारी हो । नैतिक नेतृत्वले मात्र त्यसो गर्न  सक्छ । पथभ्रान्त राजनीतिलाई ठिक ठाउन नागरिक शिक्षाले नरम रणनीतिको काम गर्छ । 

सार्वजनिक जिम्मेवारी बहन गर्नेहरू ‘सार्वजनिक’ हुनु पर्छ । सोच सार्वजनिक, स्वार्थ सार्वजनिक र व्यवहार पनि सार्वजनिक हुनु पर्छ । यी आग्रह पूरा गर्न नीति, नियम, सङ्गठन, कार्यजिम्मेवारी जस्ता संरचनागत पक्ष मात्र पर्याप्त छैनन् । यसका लागि सकारात्मक सोच वा ‘गर्न सकिन्छ र गर्नु पर्छ’ भावना प्रत्येकको मनबाट उमारिकन उसको व्यहार क्रियाशील हुँदैन । समाजको पुनर्निर्माणका लागि अहिले चाहिएको सबैभन्दा ठुलो कुरा भनेको सकारात्मक सोच हो । गर्न सकिन्छ, यसरी सकिन्छ, नसकी हुँदैन र गर्नै पर्छ भन्ने अन्तरभावना र सामथ्र्यको ऊर्जा नै सकारात्मकता हो । सकारात्मक भावना विकासका लागि नागरिक शिक्षा अत्यन्तै आवश्यक छ ।  

Author

गोपीनाथ मैनाली