गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १९ गते । नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच ऊर्जा क्षेत्रमा भएको पाँच दशकको साझेदारीका क्रममा गरिएको कार्यलाई फोटो प्रदर्शनमार्फत प्रस्तुत गरिएको छ । प्रदर्शनीको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, एडिबी नेपालका देशीय निर्देशक अर्नोड काउचोइस र नेपालस्थित नर्वे राजदूतावासका उपनियोग प्रमुख क्रिस्टिन हाउग स्टोर्होल्टले संयुक्त रूपमा मङ्गलबार उद्घाटन गर्नुभयो ।
राज्यमन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा एडिबीले पुर्याएको योगदानप्रति धन्यवाद दिँदै एडिबीको सहयोगमा अहिले धेरै सकारात्मक कार्य भएका बताउनुभयो । उहाँले नेपालको ऊर्जा क्षेत्र सुधारमा बैङ्कले गरेको कार्यप्रति आभार व्यक्त गर्नुभयो । एडिबीका काउचोइसले विद्युत् उत्पादन, प्रसारण, वितरण, ऊर्जा आत्मनिर्भरता र निर्यात सम्भावना बढाउन नेपाल सरकारसँगको साझेदारीबारे विस्तृतमा चर्चा गर्नुभयो । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले विशेष गरी ठुला जलविद्युत् परियोजना र वैकल्पिक नवीकरणीय ऊर्जा पहलमा एडिबीले पुर्याएको सहयोगको महत्वबारे चर्चा गर्नुभयो ।
प्रदर्शनीलाई उत्पादन, प्रसारण, वितरण र ‘बियोन्ड दी मिटर’ (मिटरभन्दा पर) गरी चार भागमा विभाजन गरिएको छ । फोटो पत्रकार क्लब नेपालको सहकार्यमा नेपाल कला परिषद्, बबरमहलमा मङ्सिर १८ देखि २४ गतेसम्म प्रदर्शन आयोजना गरिने छ ।