गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १९ गते । मण्डला नाटकघरले ‘ढुकढुकी ७२ मेगाहर्ज’ को सो थप गरेको छ । दर्शकको माग र दैनिक हाउस फुल भएको हुनाले सात सो थपिएको निर्देशक केदार श्रेष्ठले जानकारी दिनुभयो । नाटक आइतबारसम्म मञ्चन हुने छ ।
नाटकले घटनाको प्रभावमा जन्मिएका मानवीय संवेदनाको कथालाई मञ्चमा उतारेको छ । सन्तान चाहना पालेका दम्पतीको जीवनमा आइपरेका जटिलता, आकाङ्क्षा, आशा, बाध्यता, विवशता, विकल्प र विश्वास नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को आवाज हो । केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकलाई दयाहाङ राईले निर्माण गर्नुभएको हो । कलाकार मेनुका प्रधान र कार्मका साथमा भित्री मञ्चमा मनिष व्याञ्जु र आभा प्रधानको नाटकमा अभिनय रहेको छ । नाटकमा देव न्यौपानेको ध्वनि, घनश्याम श्रेष्ठको प्रकाश, रमिला नेम्कुलको वेशभूषा रहेको छ ।