• २३ पुस २०८१, मङ्गलबार

आठ प्रहरी नायब महानिरीक्षक दर्ज्यानी चिह्नद्वारा सुशोभित

blog

तस्बिर: नेपाल प्रहरी

काठमाडौं, मङ्सिर १७ गते । नेपाल सरकार गृहमन्त्रीस्तरको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका आठ जना प्रहरी नायब महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबिच उहाँहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिह्नद्वारा सुशोभित हुने प्रहरी नायब महानिरीक्षकहरूमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक रहनुभएको छ ।

दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नेपाल प्रहरी सङ्गठनमा आबद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्यनिष्ठता, कार्यकुशलता, पेशागत दक्षता एवम् इमानदारीको मूल्याङ्कनका आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा उत्कृष्ट ढङ्गबाट कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “राज्य र सङ्गठनले तपाईहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ, यसमा खरो रूपमा उत्रिनु हुनेछ भनी विश्वास लिएको छु ।”

सङ्गठनलाई समायानुकूल सुदृढीकरण र गतिशीलता प्रदान गर्नका लागि नेतृत्व तहका प्रहरी अधिकृतहरू सदैव चिन्तनशील रहँदै विभिन्न सृजनशील प्रयासबाट सङ्गठनको समयसापेक्ष विकास र श्रीवृद्धिमा लाग्नुपर्ने चर्चा गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गरिएको सत्प्रयासले मात्र साङ्गठनिक सुदृढीकरण र सङ्गठनको प्राथमिकता, निर्धारित लक्ष्य र उद्देश्य हासिल हुने हुँदा त्यसका लागि सम्पूर्ण नीतिगत तहमा रहेका प्रहरी अधिकृतहरू कटिबद्ध रहन उहाँले निर्देशन दिनुभयो ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाका साथ राष्ट्र र नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति थियो ।