‘घनघोर दुःखसागर संसार जान भाइ
नगरे घमण्ड कहिले मर्नु छ हामीलाई’
माथि उल्लेख गरिएको कविता लक्ष्मीप्रसाद देवकोटाको प्रथम रचना हो । यो रचना लेख्दा उहाँको उमेर १० वर्षको मात्र थियो । उहाँले मृत्यु शय्यामा पुग्दासमेत कविता लेख्न छाड्नु भएन ।
नेपाली भाषालाई समृद्ध बनाउन उहाँको ठुलो योगदान छ । लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषा साहित्यका महाकवि हुनुहुन्छ । उहाँको जन्म विसं १९६६ कात्तिक २७ गते शुक्रबार लक्ष्मीपूजाका दिन काठमाडौँको धोबीधारामा भएको थियो । उहाँका पिताको नाम पं. तिलमाधव देवकोटा तथा माताको नाम अमर राज्यलक्ष्मी देवी हो । पं. तिलमाधवका दुई पत्नीमा अमर राज्यलक्ष्मी दोस्रो हुनुहुन्थ्यो ।
देवकोटाका कविताका २१, खण्डकाव्यका ३५, महाकाव्यका छ, नाटकका दुई, निबन्धका पाँच, कथाका एक र उपन्यास एक गरी ७१ पुस्तक प्रकाशित छन् । अप्रकाशित पुस्तकहरू पनि छन् । चलचित्रसमेत निर्माण भइसकेको ‘मुनामदन’ जनसाधारणले सबैभन्दा धेरै मन पराएको पुस्तक हो । स्वयं देवकोटाको नजरमा पनि मुनामदन अत्यन्तै प्रिय पुस्तक थियो ।
देवकोटा साहित्यकार मात्र हुनुहुन्थेन, उहाँमा राजनीतिक चेतना पनि थियो । यही कारण २००३ असार १२ गते त्रिचन्द्र कलेजमा प्राध्यापकका रूपमा प्रवेश पाउनुभएका उहाँले जागिर छाड्ने विचार गर्नुभएको थियो । राणा शासनविरुद्ध नेपाली क्रान्तिकारीहरू वनारसमा बसेर सङ्गठन गरिरहेका थिए । त्यही क्रान्तिलाई सघाउन उहाँ २००४ साउन ३ गते वनारसतिर लाग्नुभएको थियो ।
२००७ सालमा प्रजातन्त्र प्राप्त भयो । २००९ सालमा तत्कालीन राजा त्रिभुवनले महाकवि देवकोटालाई सल्लाहकार समितिको सदस्यमा मनोनीत गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालय स्थापना गर्न गठित कमिसनमा उहाँ २०१२ चैत १८ गते सदस्यका रूपमा मनोनीत हुनुभएको थियो । साहित्य एकेडेमी स्थापना गर्न २०१२ सालमा उहाँकै अध्यक्षतामा प्रारम्भिक समिति बनेको थियो । सो समितिमा बालकृष्ण सम, यज्ञराज सत्याल, लैनसिंह बाङ्देल, माधवप्रसाद घिमिरे, बालचन्द्र शर्मा, सोमनाथ सिग्देल, कुलचन्द्र गौतम, लेखनाथ पौडेल र सिद्धिचरण श्रेष्ठ सदस्य हुनुहुन्थ्यो ।
२००७ सालको क्रान्तिबाट नेपाली जनताले अपेक्षित सुखसुविधा पाएनन् भन्दै आन्दोलन गर्नुभएका डा. केआई सिंहले भागेर चीनमा राजनीतिक शरण लिनुभएको थियो । पछि नेपाल फर्किनुभयो । २०१२ असोज ८ गते टुँडिखेलमा आम सभाको आयोजना गरिएको थियो । त्यो विशाल आम सभाको सभापतित्व महाकवि देवकोटाले नै गर्नुभएको थियो । डा. केआई सिंहको नेतृत्वमा बनेको मन्त्रीपरिषद्मा उहाँ २०१४ साउन ४ देखि कात्तिक २९ गतेसम्म जम्मा ११० दिन शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुभएको थियो ।
‘संसाररूपि सुख स्वर्गभित्र रमेँ रमाएँ
लिइ भित्र चित्र सारा
भयो त्यो मरूभूमितुल्य
रातै परेझैँ अब बुझ्छु बल्ल
संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्य सरी बिलाएँ
जन्मेँ म यो स्वगविषे पलाएँ
आखीर भै खाक त्यसै बिलाएँ’
माथि उद्धृत गरिएका आठ हरफ कविता महाकवि लक्ष्मीप्रसाद देवकोटाका अन्तिम कविता हुन् । यो कविताको रचना उहाँले मृत्यु शøयामा गरेर हरि श्रेष्ठलाई उपलब्ध गराउनुभएको थियो । नेपाली साहित्यलाई विश्वसामुसमेत परिचित गराउन सक्षम साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको मृत्यु ५० वर्षको उमेरमा २०१६ भदौ १९ गते भएको हो । जीवनमा गर्नुभएका सकारात्मक कर्मका कारण नेपालीको मनमा उहाँ आज पनि जीवित हुन्छ ।