नारद कोहार
तौलिहवा (कपिलबस्तु), मङ्सिर १६ गते । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा अध्यक्ष पदको मतगणना आइतबार राति ८ बजेबाट सुरु हुने भएको छ । जिल्ला निर्वाचन अधिकारी अमरबहादुर वलीले तीन वटा मतदानस्थलमा ६ वटा मतदान केन्द्रबाट मतदान जारी रहेको छ ।
उहाँले उपनिर्वाचनको मतगणनाका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो । मतगण आजै राति ८ बजेबाट सुरु हुनेछ ।
मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीका अनुसार पतरिया स्वास्थ्य चौकीको माथिल्लो हलमा मतगणना स्थलको व्यवस्था मिलाइएको छ । जहाँ तारजाली र ५ वटा सिसी टिभी क्यामेरा पनि राखिएको छ । मतगणना स्थलमा १४ जना कर्मचारी र उम्मेदवार वा उनका प्रतिनिधिहरूलाई मात्र प्रवेश दिने व्यवस्था गरिएको छ ।
अधिकारीका अनुसार मतगणनाको प्रक्रिया निरन्तर जारी रहनेछ । राति १२ देखि १ बजेसम्म नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।
आइतबार साँझ ५ बजेसम्म ३ मतदान केन्द्रका ६ वटा मत पेटिका मतगणना स्थलमा जम्मा हुने छन् र उम्मेदवारहरूसँग छलफलपछि मतगणना सुरु गरिने छ ।
यद्यपि, मतदान केन्द्रहरूमा दिउँसो ४ बजेसम्म तीन हजार चार सय ४६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
शुद्धोधन गाउँपालिका १ मा निर्वाचनका लागि दुई हजार ११२ महिला र दुई हजार सात सय ५६ पुरुष गरी चार हजार आठ सय ६८ मतदाता छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रिक्त रहेको सो पदका लागि उपनिर्वाचन हुँदैछ ।
उक्त पदका लागि चार स्वतन्त्रसहित १४ जना प्रतिस्पर्धामा छन् । निर्वाचनलाई भयरहित ढङ्गबाट सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनुभयो ।