छविलाल पाण्डे
बुटवल, मङ्सिर १५ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस र एमाले गठबन्धनको सरकार ढल्ने दिवा सपना नदेख्न आग्रह गर्नुभएको छ । रुपन्देही उद्योग सङ्घको ४० औँ स्थापना एवं औद्योगिक दिवस समारोहलाई आज बुटवलमा उद्घाटनपछि सम्बोधन गर्दै वर्तमान गठबन्धनको अर्को कुनै विकल्प छैन भन्नुभयो ।
उहाँले राजनीतिक अस्थिरताको पीडाबाट शिक्षा लिएर अहिले कांग्रेस र एमालेले गठबन्धन बनाएको स्मरण गर्दै अहिलेको संसद्ले दिनसक्ने स्थिरताको सरकार भनेको कांग्रेस एमालेकै सरकार भएकाले अव सरकारले नीति र नेतृत्वमा स्थिरता दिने बताउनुभयो ।
उहाँले सरकारलाई अस्थिर बनाउने कोसिस भइरहेको बताउँदै कांग्रेस एमालेबिचको यो समीकरणको विकल्पमा अर्को समीकरण बनाउने कोसिस कसैले नगरे हुन्छ भन्नुभयो ।
अर्थमन्त्री पौडेलले भन्नुभयो, “यो गठबन्धनले नीतिगत स्थिरता र नेतृत्वको स्थिरता दिनेछ । अस्थिरता अव सम्भव छैन । उहाँले कांग्रेस र एमालेबिचको समीकरण र त्यसबाट सिर्जना भएको राजनीतिक स्थिरताको लाभ देशले लिनुपर्दछ, उद्योगी व्यवसायीले लिनुपर्छ, भन्नुभयो ।
उहाँले देशमा औद्योगीकरणले चाहेअनुसार फड्को मार्न नसकेको बताउँदै अव राजनीतिक स्थिरताको माध्यमबाट रोजगारीको अवसर सिर्जना हुने उल्लेख गर्नुभयो ।
अर्थमन्त्री पौडेलले दुवै पार्टीको अग्रसरतामा यो सरकार बनेकाले अव यो गठबन्धनको विकल्पमा अर्को गठबन्धन निर्माण हुन नसक्ने उल्लेख गर्नुभयो । विगतमा छिनछिनमा सरकार परिवर्तन भएको हुँदा यो सरकार पनि धेरै टिक्दैनकि भन्ने आशङ्का उत्पन्न हुनु स्वाभाविक भएको उल्लेख गर्दै उहाँले गठबन्धन टिक्दैन कि भन्ने भ्रम नराख्न आग्रह गर्नुभयो ।
उहाँले कांग्रेस र एमालेको यो गठबन्धन २०८४ को आम निर्वाचनसम्मै जाने भएकाले यो गठबन्धनलाई कोही कसैले प्रभावित गर्न सक्दैन भन्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरीले राजनीतिक स्थिरता नहुँदा उद्योगी व्यवसायीका समस्या समाधानमा बाधा पुगेको उल्लेख गर्दै अव सरकारले उद्योगी व्यवसायीका समस्या समाधानतर्फ अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।
रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम छिटो गर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।